ad ad

राजनीति


प्रचण्ड-नेपाल फैसला पुनरवलोकनमा जाने, ओलीले एमाले जगाउने

प्रचण्ड-नेपाल फैसला पुनरवलोकनमा जाने, ओलीले एमाले जगाउने

मणि दाहाल
फागुन २३, २०७७ आइतबार १६:५७,

नेकपा एकतालाई बदर गर्नेगरी सर्वोच्च अदालतले दिएको फैसलाबाट सो पार्टीका विभाजित दुई समूहमा दुई खालको प्रतिक्रिया उत्पन्न भएको छ।

पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालले नेतृत्व गरेको बहुमत पक्ष फैसलाको पुनरवलोकनमा जाने निष्कर्षमा पुगेको छ। उनीहरुले अहिले नेकपाकै रुपमा गतिविधि अघि बढाउने बताएका छन्।

अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भने नेकपा एमालेलाई क्रियाशील बनाउने भएको छ।

प्रचण्ड–नेपाल पक्षले अदालतको फैसला त्रुटिपूर्ण रहेको र त्यो कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकालेको छ।

ओलीले भने आफ्नो पक्षको संसदीय दलको बैठकमा नेकपा एमालेको बैठक चाँडै बोलाउने बताएका छन्।

‘सूर्य चिन्ह कसको हो भन्ने विषयमा पनि अदालतको फैसलाले टुंग्याइदिएको छ,’ ओलीको भनाइ थियो।

त्यसो त ओलीनिकट कतिपय सांसदहरुले पुनर्स्थापित संसदको पहिलो बैठकमा नेकपा एमालेको सांसदको हैसियतमा उपस्थित भएको बताएका थिए।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुवै समूहले नेकपाको नाममा गतिविधि गर्दै आएका थिए।

दुवै पक्षले आफूहरु आधिकारिक भएको दाबी गरेपनि निर्वाचन आयोगले आधिकारिकताको फैसला गर्न सकेको थिएन्। प्रधानमन्त्री ओली पक्षले पूर्व एमालेलाई आफ्नो पक्षमा ल्याउन प्रयास गरेको थियो। तर त्यसलाई राजनीतिक रुपमा अघि बढाउन सकिरहेको थिएन।

ओलीलाई अदालतको फैसलाले सहज बनाएको छ। ओली समर्थित अनेरास्ववियुका कार्यकर्ताहरुले एमाले ब्युँतिएको र सूर्य चिन्ह प्राप्त हुने भन्दै दीप प्रज्ज्वलन गरेका छन्।

माओवादी केन्द्रले समर्थन फिर्ता गरे विश्वासको मत लिने पनि ओलीले बताएका छन्। संसदीय दलको बैठकमा ओलीले एक महिनाभित्र विश्वासको मत लिने र आफूले जित्ने विश्वास व्यक्त गरेका थिए।

तर, प्रचण्ड–नेपाल समूहले भने एकीकृत पार्टीको रुपमा आगामी दिनको गतिविधि जारी राख्ने भएका छन्।

अनपेक्षित फैसला आएको बताउँदै सो समूह पुनरवलोकनमा जाने भएको छ। प्रचण्ड–नेपालसहितका नेताहरुले अदालतको फैसलापछि आइतबार साँझ कानुन व्यवसायीहरुसँग परामर्श गरेका थिए।

कानुन व्यवसायीहरुसँग छलफलपछि सो समूहले अदालतले आइतबार गरेको फैसला कानुनी नभई राजनीतिक प्रकृतिको भएको समेत निष्कर्ष निकालेको छ।

‘फैसला कार्यान्वयनमा धेरै जटिलता छ। त्यसैले यसलाई कानुनी र संवैधानिक रुपमा चुनौती दिन्छौँ। पुनरवलोकमा जान्छौँ,’ स्थायी कमिटीका सदस्य रघुजी पन्तले भने, ‘सर्वोच्च अदालतको फैसला न्यायिक नभई बढी राजनीतिक देखिन्छ। एमाले र माओवादी एकीकृत भएर नेकपा बनेको हो। यो यथार्थ हो। त्यसलाई कसैले नकार्न सक्दैन। त्यसैले एकीकृत पार्टीकै रुपमा अघि बढ्ने छौँ।’

नेकपाको नाममा दाबी गर्ने ऋषि कट्टेलले माग्दै नमागेको विषयमा अदालत प्रवेश गरेर फैसला गरेको उनीहरुको भनाइ छ।

सो समूहले अदालतको फैसलापछिको अवस्थाको बारेमा थप निर्णय गर्नका लागि सोमबार स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .