राजनीति


सबैभन्दा ठूलो नौसैनिक शक्ति बन्यो चीन, पछि पर्‍यो अमेरिका

सबैभन्दा ठूलो नौसैनिक शक्ति बन्यो चीन, पछि पर्‍यो अमेरिका

नेपालखबर
फागुन २३, २०७७ आइतबार १४:४५,

सन् २०१८ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ बर्दी लगाएर दक्षिण चीन सागरस्थित जनमुक्ति सेनाको नौसैनिक जहाजमा चढे।

अप्रिलको त्यो दिन कम्युनिस्ट चीनले एकैपटक सबैभन्दा बढी सैन्य शक्ति समुद्रमा उतारेको थियो। ४८ जहाज, दर्जनौँ लडाकु विमान र १० हजारभन्दा बढी सैनिक समुद्रमा उतारिएको थियो।

यो शक्ति प्रदर्शनले माओ त्सेतुङपछि सबैभन्दा शक्तिशाली नेता सीको विशाल महत्वाकांक्षालाई देखाउँथ्यो।

‘नौसेनालाई शक्तिशाली बनाउनु अहिलेजति आवश्यक कहिल्यै थिएन,’ त्यो बेला सीले भनेका थिए।

त्यसबेला चीन धमाधम लडाकु जहाज बनाउन लागिपरेको थियो। जुन गतिमा विरलै जहाज बन्ने गर्छन्।

navy-china_35_1.jpg

सन् २०१५ मा जनमुक्ति सेनालाई अमेरिकी सेनाकै दाँजोमा आउनेगरी विश्वको शक्तिशाली सेना बनाउने अभियान सीले थाले। जहाज निर्माण र प्रविधिको विकासमा लगानी गर्न उनले आदेश दिए। आजपनि त्यो गति कायम छ।

कमसेकम एउटा तरिकाले सीको योजना सफल भयो। यतिबेला चीनसँग विश्वको सबैभन्दा ठूलो नौसेना छ। र, अहिले चीन दुर देशमा पनि आफ्नो सेनालाई अजेय बनाउने प्रयास गरिरहेको छ।

अमेरिकाको नौसनिक गुप्तचर कार्यालय (ओएनआई) का अनुसार २०१५ मा पीएलएको नौसेनासँग २५५ वटा युद्धक जहाज थियो।

ओएनआईका अनुसार २०२० को अन्त्यसँगै पीएलएसँग ३६० भन्दा बढी जहाज छन्। यो अमेरिकाको भन्दा ६० वटा बढी हो। अबको चार वर्षपछि चीनसँग ४०० युद्धक जहाज हुने ओएनआईको प्रक्षेपण छ।

दुई दशकमै चिनियाँ सेनाको युद्धक जहाजको संख्या तीन गुणा बढेको छ। अमेरिकी सेनाको गत डिसेम्बरको रिपोर्टअनुसार चीनले ‘पन्डुब्बी जहाज, विमानवाहक जहाज, लडाकु विमान, एम्फिबियस जहाज तीव्र गतिमा बनाइरहेको छ।’

यीमध्ये थुप्रै अमेरिकी सेनाकै हाराहारी र त्यसभन्दा पनि उत्तम छन्।

‘पीलएको नौसेनाले कवाडी सामान पाइराखेका होइनन्। ती जहाज झन् भन्यो झन् अत्याधुनिक र शक्तिशाली बन्दै गइरहेका छन्,’ यूएस नेवल वार कलेजका प्राध्यापक एन्ड्रयु एरिक्सन भन्छन्।

210303025731-01-china-world-largest-navy-super-169.jpg

दोस्रो विश्वयुद्धमा अमेरिकाको भन्दा बढी
सन् २०२५ सम्ममा पीएलएको जहाजको संख्या ४०० पुग्ने अपेक्षा गरिएको छ। जबकि आजको दिनमा अमेरिकाको योजना जहाजको संख्या ३५५ पुर्‍याउने छ।

तर, यसको अर्थ नौसैनिक शक्तिमा अमेरिकाको दिन सकियो भन्ने होइन।

सैनिक संख्याको कुरा गर्दा अमेरिकी नौसेना विश्वकै सबैभन्दा ठूलो छ। अमेरिकासँग ३ लाख ३० हजार नौसैनिक छन् भने चीनसँग २ लाख ५० हजार मात्र।

अन्य केही आयाम पनि अमेरिकाकै पक्षमा छन्। अमेरिकी जहाजहरु चीनका भन्दा ठूला र गह्रौँ छन्। यसले क्रुज मिसाइल प्रहार गर्ने अमेरिकाको क्षमता बढी रहेको देखाउँछ।

त्यस्तै, क्षेप्यास्त्र प्रहार गर्ने भीएलएस सेल अमेरिकासँग ९ हजारभन्दा बढी छ, चीनसँग मात्र १ हजार।

अर्कोतिर अमेरिकाको सबै ५० वटा आक्रमणकारी पन्डुबी जहाज आणविक शक्तिचालित छन्। जबकि चीनका ६२ मध्ये ७ वटा मात्रै आणविक शक्तिचालित छन्। यद्यपि संख्यामा भने अमेरिका पछि पर्न थालेको छ।

210303031348-05-china-world-largest-navy-super-169.jpg

ऐतिहासिक रुपमा हेर्ने हो भने चीनको जहाज निर्माण क्षमता अद्भूत देखिन्छ। उसले दोस्रो विश्वयुद्धको बेलामा अमेरिकाले गरेको जहाज निर्माण (तौलका हिसाबले) लाई पनि पछि पारिदिएको छ।

दोस्रो विश्वयुद्धका चार वर्षमा (१९४१–४५) मा अमेरिकाले जति जहाज बनाएको थियो, त्योभन्दा धेरै जहाज चीनले शान्तिकालमा एकै वर्ष (२०१९) मा बनाएको छ।

‘दोस्रो विश्व युद्ध सकिँदा अमेरिकासँग ३ करोड ९० लाख टनबराबरका जहाज थिए। एकै वर्ष सबैभन्दा बढी १ करोड ८५ लाख टन जहाज निर्माण भएको थियो,’ सेन्टर फर अ न्यु अमेरिकन सेक्युरिटीका अध्येता थोमस सुगार्ट भन्छन्, ‘चीनले सन् २०१९ मा मात्रै २ करोड ३० लाख टन जहाज बनायो।’

चीनले व्यापारिक प्रयोजनका लागि समेत तीव्र गतिमा जहाज निर्माण गरिरहेको छ। युद्धको समयमा यसलाई तुरुन्तै सैन्य प्रयोजनमा बदल्न सकिने एरिक्सन बताउँछन्। सीएनएन

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad