ad ad

राजनीति


कांग्रेस संसदीय दलमा अधिकांश सांसदको राय– आफ्नै नेतृत्वमा सरकार बनाऔं, ओलीसँग सहकार्य नगरौं

कांग्रेस संसदीय दलमा अधिकांश सांसदको राय– आफ्नै नेतृत्वमा सरकार बनाऔं, ओलीसँग सहकार्य नगरौं

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार १७:४२,

नेपाली कांग्रेसका सांसदहरुले आफ्नै नेतृत्वमा सरकार निर्माण गर्न जाेड दिएका छन्।

शुक्रबार बसेकाे कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्ने अधिकांश सांसदले नयाँ सरकारका लागि गठबन्धन बनाउँदा प्रधानमन्त्री केपी शर्मासँग सहकार्य गर्न नहुने राय दिएका थिए।

नयाँ बानेश्वरस्थित संसद भवनमा भएको साे बैठकमा बोल्ने अधिकांशले सरकार निर्माणमा अब कांग्रेस आफैले अग्रसरता लिनुपर्ने सुझाएका हुन्।

‘अधिकांश सांसदले आफ्नै नेतृत्वमा सरकार बनाउने सुझाव दिनु भएको छ,’ सांसद डिला संग्रौलाले भनिन्, ‘नयाँ सरकार बनाउँदा कसैले पनि प्रधानमन्त्री केपी शर्मा ओली पक्षसँग मिल्नुपर्छ भनेर आजको बैठकमा भन्नु भएन।’

उनका अनुसार सांसदहरुले प्रधानमन्त्री ओलीले संसद विघटन मात्रै नगरेर संविधानको उल्लंघन पनि गरेको हुँदा उनीसँग सहकार्य गर्न नहुने धारणा राखेका थिए।

बैठकको सुरुमा देउवाले भने प्रतिपक्षको भूमिका कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सुझाव दिन सांसदहरुलाई आग्रह गरेका थिए।

सो बैठकमा राजन केसी, देवेन्द्रराज काँडेल, गगन थापा, भरतकुमार शाह, सञ्जय गौतम, भीमसेनदास प्रधान, मीन विश्वकर्मा, जीपछिरिङ लामा, तेजेन्द्र सेजुवालसहितका २९ सांसदहरुले धारणा राखेका थिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सांसदहरुको राय, सुझाव र धारणाको आधारमा पार्टीले परिस्थितिअनुसार उचित निर्णय गर्ने बताएका थिए।

बैठकमा गगन थापाले भने अहिले कांग्रेस सरकारमै जान नहुने धारणा राखेका थिए। बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने निर्णय गर्नुपर्ने उनको जोड थियो ।

‘अहिले सरकारमा जानुभन्दा बाहिर रहनु उचित हुन्छ,’ थापाले बैठकमा भनेका थिए।

बैठकमा संवैधानिक आयोगमा पदाधिकारीहरुको नियुक्ति बारेमा पनि सभापति शेरबहादुर देउवाले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने आवाज उठाइएको थियो।

‘संवैधानिक निकायहरुमा नियुक्ति गर्न तपाईंले सहमति दिनु भएको होइन भने त्यसको विषयमा पनि बोल्नु पर्‍यो?’ गगन थापाले देउवालाई भनेका थिए।

जवाफमा देउवाले आफूले संवैधानिक निकायरुमा गरिएका नियुक्तिलाई असंवैधानिक भनेको र आफ्नो अहसमति भएकै कारण संवैधानिक परिषदको बैठकमा समेत उपस्थित नभएको जिकिर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .