नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावबारे उचित समयमा उचित निर्णय गर्ने बताए।
शुक्रबार दिउँसो बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक खाँणले बैठकमा सांसदहरुले व्यक्त गरेका धारणाका आधारमा र नेकपाका सांसदहरुले खेल्ने भूमिकाको आधारमा अविश्वास प्रस्तावको बारेमा उचित समयमा आएपछि निर्णय गर्ने बताए।
‘अहिलेको राजनीतिक अवस्थाको विषयमा सांसदहरुले ज्यादै संवेदनशील र महत्वपूर्ण विचार व्यक्त गर्नुभएको छ। त्यसलाई संसदीय दल र पार्टीले धेरै गम्भीरतापूर्वक लिएको छ’, उनले भने, ‘सांसदहरुले प्रस्तुत गर्नुभएका सुझाब, सल्लाह, धारणा र प्रस्तुतलाई ध्यानमा राखेर कांग्रेसले यस सन्दर्भ (अविश्वास प्रस्ताव)को विषयमा उचित समयमा उचित निर्णय गर्छ।’
शुक्रबार बसेको संसदीय दलको बैठकमा २९ जना सांसदले धारणा राखेका थिए।
संसदीय दलको बैठकमा नेताहरुले संसदको विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई संविधानवादको जित भन्दै स्वागत गरेका थिए।

प्रतिक्रिया