नेपाली कांग्रेसका सभापति गगन थापाले सबै विषय एकैचोटि संशोधन गर्न खोज्दा नेपाल ठूलो आगोको भुंग्रोमा पर्नसक्ने बताएका छन्।
बिहीबार ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा सभापति थापाले यस्तो चिन्ता जाहेर गरेका हुन्।
‘एकैपटक सबै विषयमा संविधान संशोधन गरौं भन्ने कुराले आठौँ वर्ष, १०औँ वर्ष लगाएर बल्ल सम्हालेका यी कुराहरूबाट फेरि एक पटक नेपाल ठूलो आगोको भुंग्रोमा पर्नसक्दछ भन्ने नेपाली कांग्रेस पार्टीको चिन्ता हो,’ सभापति थापाले भने, ‘प्राथमिकता निर्धारण नगरेर हामी गर्यौँ भने यसले पूरै खुला गरिदिन्छ।’
संविधान संशोधनका विषयमा आफूले सरकारलाई अप्ठेरो पार्न नखोजेको भन्दै मिलेरै जान चाहेको उनको भनाइ छ। तर सबै विषयमा संशोधन गर्न सकिन्छ भन्ने सोचाईले अराजकता निम्त्याउने उनले चेतावनी दिए।
‘एनार्की (अराजकता)का लागि जसले जे संशोधन गरे पनि हुन्छ ,हाम्रो संविधान बनाउने बेलामा राष्ट्रियता, जनताको अधिकारका विषयबाहेक सबै विषयमा संशोधन गर्न सकिन्छ भन्नुको अर्थ जे पनि हो साथी हो भन्ठान्यौं भने त्यो संविधान सभामा संविधान कसरी बन्यो भन्ने ज्ञान चेतको अभाव हुन्छ’ थापाले भने, ‘हामीले यो कुरामा सरकारलाई अप्ठेरो पार्न खोजेका छैनौँ, हामी मिलेरै जान चाहन्छौँ।’
कांग्रेस नेपालको संविधान निर्माणको मूल नेतृत्वकर्ता भएको भन्दै आफ्नो सबैभन्दा ठूलो जिम्मेवारी रहेको थापाले बताए। ‘संविधानका सन्दर्भमा कांग्रेसको सबैभन्दा ठूलो जिम्मेवारी मैले ठानिरहेको छु,’ उनले भने, ‘हामीले उत्तेजनामा आएर पनि केही कुरा गरेर हुँदैन, पूर्वाग्रह राखेर पनि केही कुरा गर्न हुँदैन। यो कुरामा सरकारसँग हामीले मिलेरै काम गर्ने हो।’
सरकार बरालिँदा सम्हालेर ठीक ठाउँमा ल्याउने भूमिका पनि आफूले खेल्ने उनको भनाइ थियो। संविधानका मूलभूत विषयमा कांग्रेसले कुनै पनि सम्झौता नगर्ने पनि सभापति थापाले बताए ।
‘संविधानको आधारभूत विषय लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली, बहु जातीयता, बहु धार्मिकता, बहुसांस्कृतिक विशेषता, समावेशी–समानुपातिक प्रतिनिधित्वका विषयमा नेपाली कांग्रेस पार्टीले कुनै पनि सम्झौता गर्दैन। यो कुरा हाम्रो प्रतीज्ञापत्र र विधानमा व्यवस्था गरिसकेका छौं,’ उनले भने, ‘यी संविधानका आधारभूत स्तम्भ हुन्, यसलाई व्यापक बनाउन सकिन्छ, विस्तार गर्न सकिन्छ। यसलाई संकुचित बनाउने कुरा नेपाली कांग्रेसका लागि स्वीकार्य हुँदैन।’
Shares

प्रतिक्रिया