सरकारसँग सहमति भएपछि यसअघि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिलोपटक सार्वजनिक भएका छन्।
आज काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सम्बोधन गर्न नवलपरासीबाट उनी प्रस्थान गरेकाे तस्बिर सार्वजनिक भएको हो।
नवलपरासीमा सहिदका परिवारसँग भेटघाट गरेर उनी काठमाडौं प्रस्थान गरेको जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिएका हुन्।
‘सरकार र विद्रोही नेकपाबीच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ,’ डुम्रेले शुक्रबार बिहान तस्बिर सार्वजनिक गर्दै भनेका छन्, ‘महासचिव विप्लवले नवलपुरमा सहिदका परिवार भेटघाट गरी भर्खरै काठमाडौ प्रस्थान गर्दै हुनुहुन्छ।’

डुम्रेका अनुसार सहिद–सप्ताहको अन्तिम दिन नवलपुरस्थित सहिद फूलमाया सारू ‘रमा’ को परिवारलाई महासचिव विप्लवले भेटघाट गरेका हुन्।
उनका अनुसार ‘फूलमाया सारू २०५९ जेठ १९ गते गुल्मीको वामिटक्सारस्थित प्रहरी चौकीको कारबाहीमा परी सहिद भएकी थिइन्’।
विभिन्न चरणको वार्तापछि बिहीबार बिहान सरकार र आफ्नो पार्टीबीच तीनबुँदे सहमति भएपछि विगत २ वर्षदेखि भूमिगत विप्लव आज काठमाडौंमा आयोजना हुने संयुक्त सभामा सहभागी हुन आउँदै गरेका हुन्।
सरकारले उनलाई लिन हेलिकप्टर पठाउने तयारी गरेको तर जनतामा गलत सन्देश जाने भन्दै विप्लव गाडीमार्फत नै आउन लागेको बताइएको छ।
सभामा प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ। साथै आज सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने हिजो बिहीबार दुवै पक्षका वार्ता टोलीद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा उल्लेख छ।
कार्यक्रम आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुनेछ।

याे पनि : सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति

प्रतिक्रिया