प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठकले नयाँ सरकार गठन र निर्वाचन आयोगसम्बन्धी सबै निर्णय गर्ने अधिकार सचिवालय र स्थायी कमिटीलाई दिएको छ।
बुधबार पेरिसडाँडामा बसेको नेकपाको केन्द्रीय कमिटीको बैठकले सरकार गठनको लागि दलहरुबीच नयाँ गठबन्धन निर्माण गर्ने निर्णयको अधिकार सचिवालयलाई दिएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए।
‘कांग्रेस र जसपासँग सरकार गठनको विषयमा छलफल भएको छ’, बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै गैरेले नेपालखबरसँग भने, ‘उहाँहरुसँगको छलफल सकारात्मक छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ।
सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णय यही फागुन ११ मा बदर गरेपछि उनको राजीनामा माग्दै आएका प्रचण्ड–नेपाल पक्षले नयाँ सरकार गठनको लागि संसदमा रहेका कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरिरहेका छन्।
यस्तै नेकपाको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगले आधिकारिकता विषयमा टुंगो नलगाएकोमा दुःख प्रकट गर्दै निष्पक्ष र न्यायसंगत निर्णय गर्न अनुरोध गर्ने र ढिला न्याय अन्याय हो भन्ने स्मरण गराउने निर्णय गरेको गैरेले बताए।
उनका अनुसार निर्वाचन आयोगलाई छिटो फैसला गर्न ध्यानाकर्षण गराउने निर्णय भएको छ।
Shares

प्रतिक्रिया