ad ad

राजनीति


प्रचण्ड–नेपाल पक्षले केन्द्रीय सदस्यलाई फेरि भन्यो : नागरिकता र परिचयपत्रसहित पेरिसडाँडामा आउनू

प्रचण्ड–नेपाल पक्षले केन्द्रीय सदस्यलाई फेरि भन्यो : नागरिकता र परिचयपत्रसहित पेरिसडाँडामा आउनू

नेपालखबर
फागुन १९, २०७७ बुधबार १:४६,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले केन्द्रीय सदस्यहरूलाई नागरिकता र पार्टीको परिचयपत्रसहित पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

नेकपाले आज (बुधबार) दिउँसो १ बजे पेरिसडाँडा (केन्द्रीय कार्यालय) मा अनिवार्य उपस्थित हुन भनेको हो।

यसअघि पनि यही फागुन ७ गते उसले आफ्ना सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित पेरिसडाँडामा भेला गराएको थियो।

त्यसदिन केहीबेर अनौपचारिक बैठक बसेर सबै केन्द्रीय सदस्यलाई केही दिन काठमाडौं नछाड्न निर्देशन दिइएको थियो।

त्यसको ११ दिनपछि नेकपाले फेरि आफ्ना केन्द्रीय सदस्यलाई पार्टीको परिचयत्र र नागरिकतासहित आज केन्द्रीय कार्यालयमा बोलाएको हो।

गत सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको उसको सचिवालय बैठकको निर्णयअनुसार आज (बुधबार) दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको हो।

यसैका लागि आफ्ना सबै केन्द्रीय सदस्यलाई बोलाइएको नेकपा प्रचण्ड–नेपाल पक्षका एक नेताले जानकारी दिए।

यस्तै यसअघि आजै बिहान ११ बजे स्थायी कमिटी बैठक पनि बस्ने नेकपा नेताहरूले बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद् विघटनका लागि सिफारिस गर्ने निर्णय गरेलगत्तै औपचारिक रूपमै नेकपाका दुई समूह विभाजन भएका हुन्। त्यसयता ओली र प्रचण्ड–नेपाल पक्षका रूपमा अलग्गिएका उनीहरूले आआफ्ना बैठक र भेला गरिरहेका छन्।

दुवै पक्षले आफू आधिकारिक दल (नेकपा) भएको दाबी गरे पनि निर्वाचन आयोगले अहिलेसम्म निर्णय नगरिदँदा अन्योल कायमै छ।

प्रचण्ड–नेपाल पक्षले गत माघ २० गते नै बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर पेस गरिसकेको भए पनि आयोगले अझै निष्कर्ष दिएको छैन।

सर्वाेच्च अदालतले यही फागुन ११ गते विघटनको निर्णय बदर गर्दै प्रतिनिधि सभा पुनःस्थापना गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .