ad ad

छापा खबर


ताप्लेजुङमा किन हुन्छन् पटक-पटक ठूला आगलागी?

ताप्लेजुङमा किन हुन्छन् पटक-पटक ठूला आगलागी?

नेपालखबर
फागुन १९, २०७७ बुधबार १:४१,

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेका छन्। ५५ परिवार विस्थापित भएका छन्। भौतिक क्षति यकिन भइसकेको छैन। बजारको मुख्य भागको ६५ प्रतिशत घर जलेको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले बताए।

स्थानीय प्रेम न्यौपानेले सोमबार बिर्तामोड (झापा) बाट दुई ट्रक युरिया र डीएपी मल, एक गाडी खाद्यान्न ल्याएका थिए। बेलुकी अबेरसम्म अनलोड गरे। पाँच लाख रुपैयाँबराबरको उक्त सामान न्यौपानेले थन्क्याउनै पाएका थिएनन्। पसलमा १० लाखको खाद्यान्न छँदै थियो। मंगलबार सबै खरानी बनेको न्यौपानेले सुनाए। ‘केही पनि जोगाउन सकिनँ’, न्यौपानेले भने, ‘साहुबाट ऋण काढेर जोडेको सामान सबै खरानी भयो।’

अर्का स्थानीय प्रदीप पोख्रेलका किराना र लत्ता कपडाका पसल थिए। पसलका सबै सामान खरानी बनेका छन्। ‘आगलागी सुरु भएसँगै जोडिएा दुईवटा घरमा हाम्रो पसल थियो’, पोख्रेलले भने, ‘जीउमा लगाएको एकसरो कपडाबाहेक केही बचेन।’ दुवै पसलमा गरी ८० लाख रुपैयाँभन्दा बढीको सामान जलेको पोख्रेलको भनाइ छ।

फुङलिङ र फिदिम नगरपालिकाका दमकल र एस्काभेटर प्रयोग गरी आगो थप फैलनबाट रोकिएको थियो। त्यस क्रममा दुई घर भत्काइएको थियो। आगो मंगलबार साँझसम्म पनि पूर्ण नियन्त्रणमा भने नआएको अध्यक्ष लिम्बूले बताए। ‘४९ घर जलेको र त्यहाँ पसल व्यवसाय गरेर बस्नेसहित ५५ परिवार विस्थापित भएको प्रारम्भिक तथ्यांक छ’, अध्यक्ष लिम्बूले भने, ‘एस्काभेटरले केही घर भत्काएपछि बाँकी बजार जोगाउन सफल भयौं।’

स्थानीय गोपाल खवासले बिहान ९ः१५ बजेतिर भोला पौडेलको घरको दोस्रो तलाबाट आगो लागेको बताए। व्यवसायी गंगाराम गुरागाईंका अनुसार उक्त आगो तुरुन्त फैलिएकाले स्थानीयले घरभित्रका सामान निकाल्न भ्याएनन्। ‘एक्कासि आगो फैलियो। मालसामान, कागजात केही निकाल्न पाएनौं’, गुरागाईंले भने, ‘भागेर ज्यान जोगायौं।’
बजारका ५० घर जोगिए पनि अहिले आगो नजिकको खाम्लुङ भीरतर्फ सल्किएको छ। त्यसले साक्फारा बस्तीमा जोखिम हुन सक्ने वडाध्यक्ष गणेश भण्डारीले बताए।

बर्सेनि दुई तिरबाट नदीको कटानको मारमा पर्दै आएका स्थानीय आगलागीको चपेटामा परेका हुन्। ‘बर्खा लाग्नासाथ खोलामा बाढी आएर बगाउला कि भनेर सुत्न सकिन्नँ’, स्थानीय मानबहादुर मोक्तानले भने, ‘हिउँदमा आगोले सखाप बनायो।’

ताप्लेजुङमा यही वर्ष आगलागीका तीन ठूला घटना भएका छन्। माघ २० गते सिरिजंघा–१ सिनाममा पाँच घर जले। पुस दोस्रो साता पाथीभरा मन्दिर क्षेत्रमा लागेको आगो महिना दिनपछि मात्रै नियन्त्रणमा आएको थियो। जसमा १ सय ५० हेक्टर वन नष्ट भएको थियो। मन्दिरसमेत जोखिममा पारेको थियो। फुङलिङ बजारको पुरानो बैंक लाइनमा वैशाख १९ गते राति १२ घर जले। २८ परिवार विस्थापित भए। त्यहाँका विस्थापित अझै तंग्रिन सकेका छैनन्।

‘एकपछि अर्को गरेर निरन्तर आगलागी हुन थाल्यो’, फुङलिङका मेयर छत्रपति प्याकुरेलले भने, ‘यसले हामी उच्च जोखिममा परिरहेका छौं। यस विषयमा गम्भीर बहस आवश्यक छ।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा सीताराम गुरागाइँले लेखेका छन्।

यसअघि वीरेन्द्र चोक, तोक्मे क्षेत्र, शेर्पा टोल र टुक्रेमा आगलागीका ठूला घटना भएका थिए। वीरेन्द्र चोकमा २०६० चैत १५ गते भएको आगलागीमा ४५ घर जल्दा ५१ करोड हाराहारीमा क्षति भएको थियो। त्यसैगरी २०७१ चैत ९ गते तोक्मे बजारमा भएको आगलागीमा ४४ घर जल्दा ३० करोड रुपैयाँ मूल्यबराबरको क्षति भएको प्रहरीको तथ्यांक छ। त्यसअघि २०६९ माघमा शेर्पा टोलमा आठ घर जलेका थिए। जसमा २ करोड ५० लाख र २०७० साल कात्तिकमा टुक्रे बजारमा पाँच घर जल्दा १ करोड ५० लाखको क्षति भएको थियो।

वीरेन्द्रचोकमा टुकी बत्तीबाट, तोक्मेको होटलमा रक्सी झान्दा चुलोमाथि सुकाएको दाउरा सल्किएर, टुक्रेमा सेलरोटी पकाउँदा र शेर्पा टोलमा विद्युत् सर्ट भएर आगलागी भएको थियो। दोभान बजारमा मंगलबार विद्युत् सर्ट भएर आगो लागेको भनिएको छ।

‘मानिसले सावधानी नअपनाउँदा धेरै घटना हुने गरेको छ’, उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले भने, ‘आगोमा काम गर्दा, विद्युतीय उपकरण चलाउँदा होसियार हुनुपर्छ।’ चुलोमा काम गर्ने विधिबारे तालिम चलाउन आवश्यक रहेको घिमिरेको भनाइ छ।

जिल्ला सदरमुकाम फुङलिङसहित अधिकांश ग्रामीण बजारमा काठ र जस्तापाताले बनाइएका कच्ची घर धेरै छन्। त्यस्तै घरबाट बढी आगो लाग्ने गरेको पाइएको छ। पक्की घर बन्ने क्रम बढे पनि जस्तापाताकै छानो लगाउने चलन छ।

अव्यवस्थित रूपमा ससाना टहरा बनाएर पसल गर्ने क्रमले पनि जोखिम बढाएको रेडक्रस जिल्ला सभापति इन्द्र गुरुङले बताए। ‘यस्ता टहरालाई तुरुन्त नगरपालिकाले व्यवस्थापन गर्नुपर्छ र मापदण्डअनुसार घर बनाउन प्रेरित गर्नुपर्छ’, सभापति गुरुङले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .