राजनीति


पुरातत्व विभागलाई मेयर शाक्यको चेतावनी : छाडा छाड्न सकिन्न, कानुनी कारबाही गर्छौं (भिडिओ)

पुरातत्व विभागलाई मेयर शाक्यको चेतावनी : छाडा छाड्न सकिन्न, कानुनी कारबाही गर्छौं (भिडिओ)

नेपालखबर
फागुन १६, २०७७ आइतबार ९:१७,

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले पुरातत्व विभागप्रति आक्रोश व्यक्त गरेका छन्।

आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणका लागि शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरुको पुनर्निमाणका क्रममा विवाद हुने गरेको बताएका हुन्।

कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद उत्पन्न भएको मेयर शाक्यले बताए। अहिले पुरातत्व विभागले कमलपोखरीको वातावरण हेरेर निर्णय गर्न खोजेको र जनतालाई एकआपसमा लडाउन खोजेको आरोप पनि मेयर शाक्यले लगाए।

‘पुरातत्व विभाग त्यहाँको वातावरण हेरेर अगाडि बढ् भन्छ। पुरातत्व विभागले त्यहाँको वातावरण हेर्ने काम हो? के लडाउने काम हो? त्यसकारण पुरातत्व विभागलाई त्यस्तो किसिमले छाडा रुपमा छोडन सकिन्न’, उनले भने, ‘जनतालाई एक आपसमा लडाएर अगाडि बढ्न खोज्यो भने पुरातत्व विभागलाई कानूनको दायराभित्र हामी ल्याउँछौं।’

मेयर शाक्यले पुरातत्व विभागले यही अनुसार काम गर्दै गए कारबाही गर्ने चेतावनी समेत दिए। महानगरभित्र रहेका कतिपय सम्पदाहरु पुरातत्व विभागकै कारण पुनर्निर्माण हुन नसकेको तर त्यसको अपजस महानगरले लिनुपर्ने अवस्था आएको पनि बताए।

हनुमानढोकाभित्र रहेका सतलहरुमा पुरातत्व विभागले होटल सञ्चालन गर्न भाडामा लगाइरहेको बताउँदै मेयर शाक्यले तत्काल खाली गराउन विभागलाई पत्राचार गरिसकेको बताए। सबै पसल र होटलहरु नहटाए स्थानीय बासिन्दा र नगरपालिका मिलेर आवश्यक कारबाही गर्ने चेतावनी पनि दिए।

‘काठमाडौं महानगरपालिका मौलिक संस्कृति, मौलिक सम्पदालाई मौलिक रुपमा कायम गर्न चाहन्छौं। हामीले पुरातत्व विभागलाई पत्र पनि लेखिसकेका छौं। हनुमानढोकाभित्र जुन जुन सतलहरु थिए, ती सतलबाट पुरातत्व विभागले व्यापार गरेर खाइरहेको छ’, उनले भने, ‘ती पसल बन्द गर भनेर पत्रचार गरिसकेका छौं। पुरातत्व विभागले व्यापार गरेर पैसा कमाउने होइन। सतल खुल्ला, बटुवामैत्री हुनुपर्छ भन्ने महानगरपालिकाको धारणा हो।’

उनले अरुलाई सिकाउने विभागले आफैँ होटल राखेर व्यापार गरेर पैसा कमाइराखेको बताए। उनले त्यसलाई काठमाडौँका जनताले नसहने भन्दै नहटाए कारबाही गर्ने चेतावनी दिए। ‘अब हामी काठमाडौं महानगरबासीले सहने छैनौं। हटाउन लगाउँछौँ, हटाएन भने अब स्थानीय बासिन्दा र नगरपालिका मिलेर आवश्यक कारबाही गरेर अगाडि बढ्छौं’, उनले भने।

मेयर शाक्यले पुनर्निर्माण प्राधिकरणले कुनै पनि विवादमा नबोल्दा समेत निर्माण कार्यमा ढिलाई हुने गरेको बताए। विवाद आएपछि प्राधिकरण भाग्ने गरेको आरोप पनि उनले लगाए। ‘मैले पुनर्निर्माण प्राधिकरणलाई पनि भनेको छु। आफूले गर्दा जे पनि ठीक अरुले गर्दा बेठीक भन्न पाइन्न। हाम्रोलागि बोल्ने को?’, उनले भने, ‘उहाँहरुले गर्दा सबै बोल्ने हामी, उहाँहरुलाई पर्दा सबै संरक्षण हामीले गरिदिनुपर्ने अनि विवाद आएपछि आफू पन्छिएर भाग्न पाइन्न।’

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सम्पदाहरुको पुनर्निर्माण गर्दा सरकारी निकायहरुबीच समन्वय हुनुपर्ने बताए। प्राधिकरण जोडिएका सम्पदाहरुको समस्या समाधानका लागि प्राकिरणले समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

‘सरकारी निकायहरुबीचको समन्वय हुने खालको कुराहरुमा आफ्ना तरिकाले सोच्ने कुरामा कहिलेकाहीं समस्याहरु छन्। त्यसलाई अरु कुनै पनि उपाय छैन। हामी एकसाथ बसेर छलफल गरेर निचोड के हो त्यो अनुसार निकालेर काम गर्नुको हामीसँग विकल्प छैन’, उनले भने।

भारत सरकारको आर्थिक सहयोगमा सेतो मछिन्द्रनाथको मन्दिर बनाउन लागिएको पनि ज्ञवालीले बताए। भूकम्पबाट क्षति भएका सबै सम्पदाहरुलाई प्राथमिकताका साथ पुनर्निर्माण गरिरहेको पनि सीईओ ज्ञवालीले बताए।

भिडिओ: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad