राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पक्षमा भएको दुई तिहाई बहुमतको संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले मुर्खता गरेको बताएका छन्।
शुक्रबार गुल्मीको पुर्तीघाटमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले भने, ‘ढुक्कसँग दुईतिहाइको हाराहारीमा बहुमत भएको संसदलाई विघटन गर्नुभन्दा मूर्खता अरू केही हुन सक्दैन।’
उनले एकजना शिकारीले दिनभरी मारेको माछा खोलामा फालेर मृगको पछि दगुर्दा माछा र मृग दुवै गुमेको कथा सुनाउँदै ओलीलाई पनि ‘मुर्ख शिकारी’ को संज्ञा दिए।
‘प्रधानमन्त्री ओलीले आफ्नै प्रधानमन्त्री रहेको जननिर्वाचित प्रतिनिधि सभालाई विघटन गर्नुभयो। त्यसपछि उहाँको माग के भन्दा आफ्नो नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार’ केसीले भने, ‘ओलीको अवस्था पनि त्यही मुर्ख शिकारीको जस्तै भयो।’
अध्यक्ष केसीले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर गम्भीर गल्ती गरेको बताउँदै अदालतले यसभन्दा अघि जे गरे पनि यस पटक जनताको पक्षमा फैसला गरेको बताए।
‘अदालतले पाप पखाल्यो’ अध्यक्ष केसीले भने, ‘यसभन्दा अघि जे गरे पनि अदालत, न्यायाधीस, वकिलहरू प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा उभिए। त्यसका लागि उहाँहरूलाई धन्यवाद दिनुपर्दछ।’
उनले संसद पुनस्र्थापना हुनु राम्रो भए पनि अब बन्ने सरकारको क्रममा सांसदको खरिदबिक्रीदेखि राष्ट्रघाती सन्धिसम्झौता हुन सक्नेतर्फ सचेत गराउँदै जनताले तिनीहरूको गतिविधिलाई खबरदारी गर्नुपर्ने बताए।
उनले देशमा संघीयता घाँडो भएकोले त्यसलाई खारेज गर्न आग्रह गरे।अहिले नै धान्न धौ धौ भएको संघीयता खारेज गर्न जनता एक पटक फेरि सडकमा उत्रिनुपर्ने आवश्यकतामा उनले जोड दिए।
उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएकाले त्यसको खारेज हुनुपर्ने माग गरे।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामकुमार क्षेत्री, राष्ट्रिय जनमोर्चाका गुल्मी जिल्ला सचिव छविलाल सर्तुङ्गी र नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवरले पनि मन्तव्य राखेका थिए।
सभा सुरु हुनुअघि पुर्तीघाट बजारमा राजमोले जुलुश प्रदर्शन गरेको थियो। कार्यक्रममा रक्तिम परिवारका कलाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया