उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका सचिवालय सदस्य इश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन्।
शुक्रबार नेकपा ओली पक्षीय अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षलाई चुनौती दिएका हुन्। केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक विधिबाट आउने अविश्वासको प्रस्तावको डटेर सामना गर्ने बताए। अविश्वासको प्रस्तावको सामना गर्दा आउने परिणामलाई स्वीकार गर्ने पनि बताए।
उनले भने, ‘केपी ओली संसदको सर्वोच्चतालाई मान्छन्। केपी ओली संसदको सर्वोच्चतालाई मानेर त्यहाँ सामना गर्छन्। तिम्रो हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याउ, त्यो अविश्वासको प्रस्तावको सामना गर्छन् केपी ओलीले। केपी ओलीको नेतृत्वमा रहेको नेकपाले ती सबै लोकतान्त्रिक विधिबाट आउने कुराहरुको सामना गर्छन्, तिमी सबैले बुझ। म यहाँहरुलाई के भन्न चाहान्छु भने हामी त्यो कार्यान्वयन गर्छौ भनेको अर्थ के हो भने संसद बोलाउने कुराको हामी प्रक्रियामा अगाडि बढ्छौ, संसदको सामना गर्छौ। कसको हिम्मत छ? अविश्वासको प्रस्ताव ल्याउ, त्यसको डटेर हामी सामना गर्छौ। त्यो अविश्वासको प्रस्तावको सामना गर्दा जे परिणाम हुन्छ, त्यसलाई स्वीकार गर्छौ। यो सबैले बुझे हुन्छ।’
उपप्रधानमन्त्री पोखरेलले केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने पनि स्पष्ट पारे। संसदमा अविश्वासको प्रस्तावको सामना गरेर लोकतन्त्र प्रतिको प्रतिबद्धतालाई ओलीले पुनः एकपटक प्रमाणित गर्ने उनको दाबी छ। सडकमा भुस्याहा कुकुरजस्तो कराउनेहरुले नारा लगाउँदैमा प्रधानमन्त्री ओली आफ्नो जिम्मेवारीबाट नपन्छिने पनि बताए।
उनले भने, ‘केपी ओलीले बिचमै छोड्छन् कि, यस खालका कुराहरु तपाईहरुलाई लागेको हुनसक्छ। म केपी ओलीको सरकारको टिमको एउटा जिम्मेवार मन्त्री भएको नाताले म तपाईहरुलाई पूर्ण जवाफदेहिताका साथ भन्न चाहान्छु। केपी ओली लोकतन्त्रमा विश्वास गर्ने, संस्थागत ढंगले, लोकतान्त्रिक ढंगले गरिएका अभ्यासहरुमा विश्वास गर्ने व्यक्ति भएको हुनाले संसदको सामना गर्नुहुन्छ। संसदको सामना गरेर नेपाली जनता समक्ष आफ्नो लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई फेरि एकपटक प्रमाणित गर्नुहुन्छ। तर, सडकमा भुस्याहा कुकुर जस्तो कराउनेहरुले नारा लगाउँदैमा केपी ओलीले आफ्नो जिम्मेवारीबाट कहिल्यैपनि पन्छिनुहुने छैन। यो चिज म तपाईंहरुलाई विश्वास दिलाउन चाहान्छु।’
उपप्रधानमन्त्री पोखरेलले सबैभन्दा ठुलो फैसला दिने न्यायाधीसहरु जनता भएकाले आफूहरु जनताले गर्ने फैसलाको प्रतिक्षामा रहेको बताए। सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको, राजनीतिक अस्थिरता निम्त्याउने, आर्थिक समृद्धिमा बाधा पु¥याउने, अराजकतालाई बढावा दिने तथा मुलुकको राष्ट्रियता र स्वाभिमानको पक्षलाई कमजोर बनाउने बताए।
Shares

प्रतिक्रिया