राजनीति


भारतीय-अमेरिकी चलखेलले नयाँ जटिलता आउन सक्छ : सिंह

भारतीय-अमेरिकी चलखेलले नयाँ जटिलता आउन सक्छ : सिंह

नेपालखबर
फागुन १३, २०७७ बिहिबार १०:५५,

नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले भारतीय र अमेरिकी साम्राज्यवादी शक्तिको सक्रियताले नेपालमा नयाँ प्रकारको जटिलता आउन सक्ने चिन्ता व्यक्त गरेका छन्।

प्रगतिशील पत्रकार संघ, रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले संसद पुनर्स्थापना भए पनि देशमा अस्थिरता पैदा हुने खतरा रहेको बताए।

‘प्रतिनिधि सभा विघटनको निर्णय बदर हुनु स्वागतयोग्य छ। सर्वोच्च अदालतको फैसलाले संविधानलाई बलियो र विश्वासिलो बनाएको छ’ नेता सिंहले भने, ‘संसद पुनर्स्थापना भएपनि देशमा अस्थिरता पैदा हुने खतरा बढेको छ। त्यसबाट भारतीय र अमेरिकी साम्राज्यवादी शक्तिले फाइदा उठाउने सम्भावना पनि उत्तिकै छ।’

यो अवस्थाका लागि मुख्य रूपमा ओली नै जिम्मेवार रहेको उनको भनाइ थियो। ओलीको गलत कार्यशैलीका कारण अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्दै पार्टीभित्रको विवादलाई ओलीले फेस गर्न नसकेका कारण देश संकटको अवस्थामा पुगेको सिंहले बताए।

भारतले नेपालमा अस्थिरता चाहेको र अमेरिकाले एमसीसी ल्याएर नेपालमा शैन्यशक्ति भित्राउन खोजेको उनले बताए। अब बन्ने सरकारले एमसीसी ल्याउन सक्ने खतरा रहेकाले सचेत हुनुपर्नेमा जोड दिँदै अब बन्ने सरकारको नीति र कार्यक्रमका आधारमा पार्टीले त्यो सरकारलाई समर्थन र विरोध गर्ने बताए।

उनले अब कांग्रेस र ओलीको समिकरणमा पनि सरकार बन्न सक्ने र कांग्रेस, प्रचण्ड–माधव समूहको नेकपा र मधेसवादीको समिकरणमा पनि सरकार बन्न सक्ने सम्भावना उत्तिकै रहेको बताए।

प्रगतिशील पत्रकार संघ रुपन्देहीका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र कोषाध्यक्ष वीरेन्द्र कुँवरको सञ्चालनमा कार्यक्रम भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad