राजनीति


संसद पुनर्स्थापना भए पनि हाम्रो राजनीति सकिँदैन : प्रधानमन्त्री ओली

संसद पुनर्स्थापना भए पनि हाम्रो राजनीति सकिँदैन : प्रधानमन्त्री ओली

नेपालखबर
फागुन १०, २०७७ सोमबार ९:५९,

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभा पुनर्स्थापना भएपनि आफ्नो राजनीति नसकिने बताएका छन्।

कञ्चनपुरको दैजीमा छेला औधोगिक क्षेत्र शिलान्यासपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको केही दिनमा अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी विषयमा फैसला गर्ने भन्दै पुनर्स्थापना भएपनि वा नभएपनि आफ्नो राजनीति नसकिने बताएका हुन्।

उनले आफूले अदालतलाई धम्की वा दबाब नदिएको दाबी पनि गरे।

‘अहिले प्रतिनिधि सभा विघटन भएको छ। देश चुनावतर्फ अघि बढेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘केही मान्छेहरु यस्तो भयो भने आफ्नो राजनीति सकिन्छ भनेर छटपटाइरहेका छन्। तर, हाम्रो राजनीति जे भएपनि सकिँदैन।’

उनले केही दिनअघि विराटनगरमा गरेको सम्बोधनलाई स्मरण गर्दै आफूले आन्दोलन गर्ने भनेर नाराजुलुशतर्फ संकेत नगरेको स्पष्ट पारे।

‘मैले त देश बनाउने आन्दोलन, लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन भनेको थिएँ। उनीहरुले त नारा जुलुश बुझेछन्’, ओलीले भने, ‘राजनीति, अर्थतन्त्र, सामाजिक पक्ष, संस्कृति सबै पक्षको आन्दोलन निरन्तर चलिरहन्छ भनेको हुँ। नारा जुलुश गर्ने, ढुंगा मुढा गर्ने आन्दोलन भनेको होइन।’

अदालतलाई धम्की नदिएको दाबी गर्दै उनले थपे, ‘हामी लोकतन्त्रमा न्यायालयलाई धम्क्याउने, दबाब दिने कुरामा विश्वास गर्दैनौं। मैले कसैलाई धम्की दिनुपर्ने आवश्यकता छैन। हामी स्वतन्त्र न्यायालयको पक्षमा छौं, शक्ति पृथकीकरणको पक्षमा छौं।’

न्यायालयका सबै निर्णय सबै समयमा उपयुक्त नहुन पनि सक्ने प्रधानमन्त्रीले बताए।

‘अदालतले गर्ने निर्णय सबै समयमा उपयुक्त नहुन पनि सक्छ। त्यसकारण मानिसले पुनरावेदन गर्छन्’ उनले भने।

संसद पुनर्स्थापना भए देशमा फेरि अस्थिरता उत्पन्न हुने र पहिलेकै समस्याहरु दोहोरिने उनले चेतावनी दिए।

‘पुनर्स्थापना भए के हुन्छ? फेरि प्रधानमन्त्री खोज्न हिँड्नुपर्छ। त्यसका लागि पार्टीहरु खोज्नुपर्छ’, उनले भने, ‘कसैको बहुमत पुग्दैन। भागबण्डाको राजनीति, खरिदबिक्री, अस्थिरता फेरि सुरु हुन्छ।’

ओलीले आफूहरु जनताको घर बनाउने, शिक्षा, स्वास्थ्य, रोजगारीको अभियानमा लागेको तर संसद पुनर्स्थापना भए ती सबै योजनाहरु अवरुद्ध हुने दाबी पनि गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad