स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरुको परामर्श शुल्क वृद्धिसम्बन्धमा आफ्नो सहमति नरहेको प्रस्ट पारेको छ।
बिहीबार मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै बुधबार नेपाल चिकित्सक संघ र एफीनद्वारा गरिएको परामर्श शुल्क वृद्धिलाई लिएर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
संघले मन्त्रालयलाई बुधबार पत्र पठाउँदै चिकित्सकको परामर्श शुल्क वृद्धि गरेको जानकारी दिएको थियो।
स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यही माघ ४ गते मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी एकलौटी रुपमा नेपाल चिकित्सक संघ र एफिनद्वारा वृद्धि गरिएको परामर्श शुल्कप्रति मन्त्रालयको असहमति छ।’
मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको अवस्थामा र मन्त्रालयसँग थप कुनै पनि परामर्श नगरी शुल्क वृद्धि गर्ने अवस्था नरहने विज्ञप्तिमा उल्लेख छ। थप गृहकार्य र मन्त्रालयसँग परामर्श गरेरमात्र यस किसिमको निर्णय उचित हुने मन्त्रालयले जनाएको छ।
स्वस्थ्य मन्त्रालयले चिकित्सकहरुको परामर्श शुल्क २०७१ भदौ ११ गते मन्त्रालयबाट जारी गरिएको पत्रानुसार नै कायम रहेको पनि प्रस्ट पारेको छ। अस्पतालहरुको सेवा शुल्क र परामर्श शुल्कसमेतको समय सापेक्षित परिमार्जन गर्न सम्बन्धित सरोकारवालासँग छलफलका लागि मन्त्रालय तयार रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।
‘निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको हकमा भने न्यूनतम पारिश्रमिक, अस्पतालहरुको सेवा शुल्क र परामर्श शुल्कसमेतको समय सापेक्षित परिमार्जन गर्न सम्बन्धित सरोकारवालासँग छलफलका लागि मन्त्रालय तयार रहेको जानकारी गराउँदछ’, विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया