नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा पूर्व जनमुक्ति सेना (पीएलए)को ‘इन्टेलिजेन्स टिम’ खटिएको छ।
पूर्वप्रधानमन्त्री प्रचण्डको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षकसहितको ठूलो टोली सरकारले फिर्ता गरेपछि पीएलएको तालिमप्राप्त समूह औपचारिक रुपमै उनको सुरक्षामा खटिएको बागमती प्रदेशका सांसद युवराज दुलालले नेपालखबरलाई जानकारी दिए।
दुलालका अनुसार पुस ७ गतेदेखि नै पूर्वबटालियन कमान्डर प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा प्रचण्डको सुरक्षामा १५ जना पूर्वपीएलए खटिएका छन्। यो संख्या बढाउने तयारी छ।
‘प्रचण्ड–नेपाल प्रतिगमनको विरुद्धको आन्दोलनमा हुनुहुन्छ र उहाँहरुमाथि सुरक्षा चुनौती बढिरहेको छ। यस्तो बेलामा सरकारले राजनीतिक पूर्वाग्रह राखेर सुरक्षा कटौती ग¥यो,’ दुलालले भने, ‘सोही कारण प्रचण्डको सुरक्षामा पीएलए पनि खटिएको छ।’
यसअघि पनि पाण्डे प्रचण्डको सुरक्षामा खटिएका थिए। त्यसैले उनको टोलीले सुरक्षासम्बन्धी तालिम प्राप्त गरिरहेको छ। तर, अहिले भने पुरै सुरक्षा चुनौतीको विश्लेषण गर्ने, प्रचण्ड जाने ठाउँ र त्यहाँको सुरक्षा अवस्थाको बारेमा वस्तुस्थिति बुझ्ने काम सो टोलीले गरिरहेको छ।
‘पीएलएको टोलीले प्रचण्डको सुरक्षा निगरानी, इन्टेलिजेन्सको काम गर्ने र सुरक्षा चुनौतीको पहिचानको काम गर्नेछ। सो टोलीलाई छुट्टै गाडीको व्यवस्था पनि मिलाइएको छ,’ दुलालले भने।
भीडमा समस्या उत्पन्न भएको भन्दै सुरक्षामा खटिएकाहरुले छुट्टै ड्रेसकोडको माग पनि गरेका छन्। त्यसको पनि व्यवस्था मिलाइने दुलालले बताए।
सरकारले पूर्वप्रधानमन्त्रीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेसँगै हाल नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका १३ जनाको टोली प्रचण्डको सुरक्षामा छ।
यसअघि उनलाई सुरक्षा दिन नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ जना र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी खटिएका थिए।
सरकारले पूर्वभीभीआइपीहरुको सुरक्षा दस्ता फिर्ता बोलाएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले निवेदन दिएर सुरक्षाकर्मी नघटाउन आग्रह गरेका छन्।
‘सुरक्षा चुनौती भएका सबै मारमा परेका छन्। अरुले निवेदन हाले। तर, प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाललाई नै लक्षित गरेर सुरक्षाकर्मी फिर्ता लगेका हुन्। त्यसैले पहिलेका पीएलए, जो अहिले युवा संघमा कार्यरत हुनुहुन्छ, उहाँहरुले सुरक्षा दिन थाल्नुभएको हो,’ दुलालले भने।
यो सुरक्षा दस्तालाई ‘स्वयंसेवी जनसुरक्षा घेरा’ नाम दिइएको छ। यद्यपि उनीहरुलाई तलब–भत्ताको व्यवस्था गरिएको छैन।

‘तलब भत्ता दिने कुरा भएन, युवा संघमा रहेका साथीहरु आलोपालो रुपमा खटिनु हुनेछ,’ दुलालले थपे, ‘प्रचण्डको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा काम गर्नुहुन्छ।’
अहिले प्रचण्डको सुरक्षामा रहेको सशस्त्र प्रहरीको एउटा गाडीले पछुवाको काम गरिरहेको छ।
‘तर, त्यसले भीडभाड, बाटोमा हुनेखालका जमघट, आकस्मिक रुपमा हुनसक्ने हुलदंगालाई रोक्न सक्दैन। किनभने प्रचण्ड सधैँ आकर्षण र चुनौतीको रहनुहुन्छ,’ दुलालले भने।
शान्तिपूर्ण राजनीतिमा आएपछि पनि लामो समय जनमुक्ति सेनाका पूर्वकमान्डरहरु सन्तु दराई (परवाना), वीरेन्द्र वीएम (मन्जिल), युवराज दुलाल (शरद)लगायतले प्रचण्डको सुरक्षा टोलीको नेतृत्व गरेका थिए।
तर, सेना समायोजनपछि प्रचण्डको सबै सुरक्षाको जिम्मा प्रहरीले लिएको थियो। त्यसपछि पूर्व जनमुक्ति सेनाका सदस्य औपचारिक रुपमा सुरक्षामा खटिएका थिएनन्।

प्रतिक्रिया