स्वदेश (नेपाल) को विकास र समृद्धिमा योगदान गर्ने अभियानअन्तर्गत एउटा महत्वपूर्ण योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको गरैआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।
संघका अध्यक्ष कुमार पन्तले दिएको जानकारीअनुसार संघको पहलमा स्थापना गर्न लागिएको ‘एनआरएन डेभलपमेन्ट फन्ड’को प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा काठमाडौंमा उपलब्ध संस्थापकहरूका तर्फबाट हस्ताक्षर भएको हो।

उनका अनुसार १० अर्बको कोषमा सरकारले ५ प्रतिशत अर्थात् ५० करोड रुपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको छ। अरू संस्थापकले १० प्रतशित अर्थात् १ अर्ब रुपैयाँ लगानी गर्नुपर्नेमा १ अर्ब ७० करोड जुटिसकेको अध्यक्ष पन्तले जानकारी दिएका छन्।
बाँकी ८५ प्रतिशतअन्तर्गत संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन्।
एनआरएनएका अध्यक्ष पन्तले भनेका छन्, ‘नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक संसारभरका गैरआवासीय नेपालीको प्रतीक्षाको घडी अब समाप्त हुँदै छ। दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गरिने यहाँहरूलाई जानकारी गराउन चाहन्छु।’

प्रतिक्रिया