नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले असंवैधानिक रुपमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीसँग अदालत डराउन नहुने बताएका छन्।
चितवनको भरतपुरमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले सर्वोच्चले विना कुनै पक्षपात, विना कुनै भय निर्णय गर्नुपर्ने बताएका हुन्।
‘विना कुनै पक्षपात, विना कुनै भय यो अदालतले निर्णय गरोस्, मेरो अदालत यो प्रधानमन्त्रीसँग नडराओस्, अदालतले हिम्मत गरोस्’, कार्यक्रममा उनले भने, ‘अदालतले संविधानको धारा मात्र हेरोस्!’
सर्वोच्चमा चलिरहेको प्रतिनिधि सभा विघटनको मुद्दातर्फ संकेत गर्दै नेता थापाले आफूलाई सर्वोच्चले निष्पक्ष निर्णय दिनेमा विश्वास रहेको बताए।
सोही कारण यो अदालतबाट संसल पुनर्स्थापना भएरै छोड्ने उनको भनाइ छ।
उनले संविधानको विघटन हुँदा त्यसको विरुद्धमा पार्टी एकजुट भएर जानुपर्ने समेत बताए।
थापाले संविधानमा भएका सबै कुरालाई लिएर यसको रक्षाका लागि सबै उठ्नुपर्ने बताए।
‘जगै हामीले भत्कायौं भने घर कसरी बनाउने? यो संविधान हाम्रा निम्ति जग हो, यही टेकेर घर बनाउने हो’, उनले अगाडि भने, ‘तर, प्रधानमन्त्री ओलीले त्यही जग भत्काइदिए।’
अहिलेको प्रश्न संविधानमा नलेखेको गर्न पाइन्छ कि पाइँदैन भन्ने रहेकोले प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदम विधिको शासन हो कि सनकको भन्दै प्रश्न गरे।
बेलायत, भारत वा अमेरिकाको जस्तो नभई नेपालको आफ्नै खालको मौलिक व्यवस्था राखेर संविधान लेखेको बताउँदै उनले १ सय ६५ निर्वाचन क्षेत्रमध्ये बहुमत जितेर आएको प्रधानमन्त्रीलाई २ वर्ष अविश्वासको प्रस्ताव राख्न नपाउने र बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिइने व्यवस्था गरेको स्पष्ट पारे।
‘बहुमतप्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन लागेन भने खुरुक्क घर जाने र बस्ने हो’, थापाले भने।
बहुमत प्राप्त गरेको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने काम अनधिकृत रहेको, यो अधिकार हाम्रो संविधानले नदिएको बताउँदै यो त कांग्रेसको सभापतिले नेकपाको जिल्ला अध्यक्षलाई हटाउने निर्णय गरेजस्तो भएको थापाले बताए।
उनले कांग्रेसले कुनै अलमलविना नै यसलाई असंवैधानिक भन्नुपर्ने बताए।
Shares

प्रतिक्रिया