राजनीति


ऊर्जामन्त्रीले संसदमा बोल्दैगर्दा बत्ति गयो

ऊर्जामन्त्रीले संसदमा बोल्दैगर्दा बत्ति गयो

नेपालखबर
साउन २३, २०७६ बिहिबार ९:१०,

प्रतिनिधिसभामा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई सम्बिन्धित मन्त्रालयको कामलाई लिएर ४५ जना सांसदले प्रश्न गरेका छन्।

बिहीबारको बैठकमा मन्त्रीपुनलाई सांसदहरुले आएर प्रश्न गरेका थिए। जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा देखिएको विद्युत् आपुर्तिको समस्या सम्बोधनका लागि सम्बिन्धत मन्त्री र विद्युत् प्राधिकरणले गम्भीरता नदेखाएको भन्दै मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका थिए। उनले मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले फोन पनि नउठाएको र भेटका लागि पनि समय नदिएको गुनासो गरेको थिए।

मन्त्री पुनले सांसद महतले उठाएको प्रश्नको जवाफ दिँदै गर्दा एक्कासि संसदमा बत्ति निभ्यो। झन्डै १५ सेकेन्ड बत्ति निभे पनि मन्त्री पुन भने निरन्तर बोलिरहे। बत्ति गएको समयमा पनि मन्त्री बोलिराखेपछि प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका सांसदहरुले देशको हालतका बारेमा अवगत गराएको थिए। मन्त्री पुनलाई प्रश्न गर्दै सांसद दिलेन्द्रप्रसाद बडूले भने, ‘माननीय ऊर्जामन्त्रीले बोल्दै गर्दा बत्ती निभ्नुले देशको विद्युत आपूर्ति अवस्था के छ भन्ने देखाउँछ।’

मन्त्री पुनले जुम्लामा विद्युत्को बैकल्पिक व्यवस्थाको लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको जानकारी दिए उनले जुम्लामा विद्युत् आपुर्तिमा आएको समस्याबारे आफुहरुलाई जानकारी प्राप्त भए लगत्तै बैकल्पिक प्रयास सुरु गरिएको उल्लेख गर्दे नेपाल विद्युत् प्राधिकरणको मस्र्याङदी जलविद्युत् केन्द्रमा रहेको ३ सय केबीए क्षमताको डिजेल जेनेरेटर पठाउने गरि आवश्यक निर्देशन र प्रक्रिया अघि बढाएको बताए।

मन्त्री पुनले कर्णालीका सम्पुर्ण जिल्लाहरुलाई राष्ट्रिय प्रशारण लाइनमा आवद्ध गर्ने योजना सरकारले अघि बढाएको बताए। जुम्लामा ३३ केबी प्रशारण लाइनका लागि यसै वर्ष दैलेख जुम्ला ट्रान्समिसन लाइनका लागि टेन्डर भएर छनौट पनि भइसकेको भन्दै उनले २ वर्षभित्र प्रशारणलाई बनिसक्ने बताए। साथै उनले यसै बर्षको बजेटमा कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नम्बर २ को पुर्व विद्युतीकरणको लागि बजेटको व्यवस्था गरिएको पनि उनले जानकारी गराए।

सांसद महतको जिज्ञासाको सम्बोधन गर्दै उनले हटलाइन सेवा मार्फत जुम्लाका उपभोक्ताबाट पावर प्लान्ट बिग्रेको जानकारी आफूले पाएको तर सांसद महतले आफूसँग भेट्न गरेको प्रयास बारे जानकार नभएको स्पष्ट पारे। उनले आवेगमा नआई सामान्य ढंगले समस्याको ध्यानार्काण गराउदा उपयुक्त हुने सुझाब समेत दिए। ‘जुन आवेगमा राख्नु भयो त्यही उचाईको आक्रोशमा नराखेर सामान्य ढंगले ध्यानाकर्षण गराउँदा पनि हुन्थ्यो’, मन्त्री पुनले भने।

उनले जुम्लामा २ सय ४० किलोवाटको विद्युत् प्राधिकरणको प्लान्ट रहेको र सो प्लान्ट उपभोक्ताको सहभागितामा सञ्चालन हुदै आएको स्पष्ट पारे। साथै उनले सोही उपभोक्ता समितिले नै आयोजनाको संचालन मर्मत संभार सम्बन्धी सम्पुर्ण कामहरु गर्दे आएको र जुम्ला साना उपभोक्ता समितिको म्याद २०७७ मंसिर सम्म रहेको जानकारी समेत गराए।

स्थानीय पुर्वाधार कोष मार्फत २६ लाख ४० हजार खर्च गरेर १ सय ६० किलोवाटको डिजेल प्लाण्ट लगाएर जुम्लामा आपतकालिन विद्युत् सप्लाई सुरु भएको मिडियामा सुन्न आएको भन्दै उनले सांसद महतलाई धन्यवाद पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .