प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेत्री पम्फा भुसालले नेपालको संविधानले महिलाहरुलाई प्रथम र द्वितीय नबनाएको बताएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यलाई प्रथम महिला भनिएकोमा आपत्ति जनाउँदै पूर्वमन्त्रीसमेत रहेकी भुसालले लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुने बताइन्।
शनिबार नेपाल प्रहरी अस्पताल र घुन्सा फाउन्डेसनले प्रहरी अस्पतालमा गरेको रक्तदान कार्यक्रममा प्रधानमन्त्री पत्नी शाक्यलाई प्रथम महिलाको रुपमा बोलाइए थियो। सोही प्रसंगलाई लिएर नेत्री भुसालले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आपत्ति जनाएकी हुन्।
‘नेपालको संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला र बाँकी महिलाहरु दोश्रो बनाएको छैन है। लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुन्छ’, भुसालले फेसबुकमा लेखेकी छन्।
उनले राजतन्त्रात्मक व्यवस्थामामात्रै राजाकी श्रीमती महारनी हुने भन्दै लोकतन्त्रमा हरेक नागरिकले आफ्नो हैसियत आफैँ निर्माण गर्नुपर्ने बताएकी छन्। उनले महिलालाई दास बनाउने सामन्ती पितृसत्तावादको विरोध गरेकी छन्।
‘वंसवाद र परिवारवादको सामन्ती राजतन्त्रात्मक व्यवस्था जहा राजाकी श्रीमती महारानी, छोराछोरी युवराज, युवराजकुमारी हुन्थे। लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिकले आफ्नो हैसियत आफै निर्माण गर्ने हो’, उनले लेखेकी छन्, ‘सबैलाई समानता र स्वाभीमान प्रदानगर्ने लोकतान्त्रिक गणतन्त्र जिन्दावाद।महिलालाई दास बनाउने सामन्ती पितृसत्तावाद मुर्दावाद।’

प्रतिक्रिया