राजनीति


सोमबारदेखि पत्रकार, कूटनीतिक नियोग र यूएनका कर्मचारी कोरोना खोप, तोकिए यी अस्पताल

सोमबारदेखि पत्रकार, कूटनीतिक नियोग र यूएनका कर्मचारी कोरोना खोप, तोकिए यी अस्पताल

नेपालखबर
माघ २५, २०७७ आइतबार ६:२६,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारदेखि पत्रकार, कूटनीतिक नियोग र यूएनमा कार्यरत कर्मचारीलाई खोप लगाउने भएको छ।

शनिबार पहिलो चरणमा अग्रपंक्तिमा खटिएकाहरुलाई खोप लगाउने अभियान सकिएपछि बाँकी रहेको खोप सरकारले पत्रकार, कूटनीतिक नियोग र यूएनमा कार्यरत कर्मचारीलाई लगाउन लागेको हो। यो खोप अभियान शुक्रबारसम्म चल्नेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका परिवार स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले बानेश्वरस्थित सिभिल अस्पतालबाट पत्रकारहरुलाई खोप लगाइने जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले सूचना विभागबाट जारी भएका प्रमाणपत्रका आधारमा पत्रकारलाई खोप लगाउने जनाएको छ। तर, सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयले भने नेपाल पत्रकार महासंघको सदस्यता लिएका साढे १३ हजार पत्रकारको विवरण स्वास्थ्य मन्त्रालयमा बुझाइसकिएको र त्यसैको आधारमा खोप लगाइने जनाएको छ।

यस्तै महाराजगन्जस्थित शिक्षण अस्पताल तथा बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीमा खोप लगाइने छ।

यस्तै लगनखेलस्थित पाटन अस्पतालबाट यूएन एजेन्सी तथा विदेशी कर्मचारीलाई खोप लगाइने गौतमले बताए। कूटनीतिक नियोगका कर्मचारीलाई उनीहरुको परिचयपत्रका आधारमा खोप लगाइनेछ।

सरकारले गत माघ १४ गतेबाट सुरु गरेको पहिलो चरणको खोप ४ लाख ३० हजार जनालाई लगाउने योजना बनाए पनि १ लाख ८४ हजारले मात्रै खोप लगाएपछि बाँकी रहेको खोप पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गर्ने भएको हो।

भारत सरकारले उपहारमा दिएको कोभिशिल्ड खोप पहिलो चरणमा प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, बागमती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जनाले खोप लगाएका छन्।

पहिलो चरणमा खोप लगाउनेहरुलाई कुनै समस्या नदेखिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad