म्यान्मारको सेनाले गरेको ‘कू’को विरोधमा शनिबार हजारौँ मानिसहरू सडकमा उत्रिएका छन्।
आम नागरिक सेनाले चालेको अप्रजातान्त्रिक कदमविरुद्ध सडकमा उत्रिएका हुन्। सैनिक कुको विरोधमा ठूलो सङ्ख्यामा दैनिक हजारौँ नागरिकले प्रदर्शन गर्न थालेपछि सैनिक नेतृत्वले इन्टरनेट सेवा बन्द गरिदिएको छ।
निगरानी समूह नेब्लक्स इन्टरनेट अब्जरभेटरीका अनुसार इन्टरेनटमा पूर्ण अवरोध छ। सामान्य अवस्थाको इन्टरनेट सम्पर्क सेवा १६ प्रतिशतमा झरेको छ। देशको मुख्य सहर याङ्गुनमा ठूलो सङ्ख्यामा उपस्थित नागरिकहरूले सैन्य शासकको विपक्ष र प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन्।
म्यानमारमा सेनाले निर्वाचित संसदलाई जिम्मेवारी दिने दिनमा नै लिइएको सैन्य कदमले देश अशान्त बनेको छ । दङ्गा प्रहरीहरूले याङ्गुनलगायतका सहरको मुख्य भागहरूमा चोक तथा सडकहरूमा धरपकड बढाएका छन्।
प्रदर्शनका निम्ति मानिसहरू परिचालन गर्न नदिन सेनाले इन्स्टाग्राम र ट्विटरमा रोक लगाएको केही घण्टापछि इन्टरनेट सेवा बन्द गरिएको हो भने फेसबुकलाई एक दिन पहिलेदेखि नै बन्द गरिएको थियो।
‘हामी सैन्य तानाशाहबाट देश र जनतालाई स्वतन्त्र पार्न र आगामी पुस्ताको अधिकारका निम्ति लड्न आएका छौँ,’ ¥यालीमा सहभागी एक महिला सहभागीले भनिन्।
म्यानमारमा अप्रजातान्त्रिक सोचलाई सदाका लागि अन्त्य गरी दीर्घकालीन शान्ति तथा सुव्यवस्था कायम गर्न सडकमा आएको अर्का प्रदर्शनकारीले बताए। एजेन्सी

प्रतिक्रिया