राजनीति


टोलीसहित प्रचण्ड र नेपाल निर्वाचन आयोगमा

टोलीसहित प्रचण्ड र नेपाल निर्वाचन आयोगमा

नेपालखबर
माघ २०, २०७७ मंगलबार ५:७,

नेकपा पार्टी विभाजन भएको र त्यसको आधिकारिक पक्ष आफू भएको दाबी गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेताको टोलीसहित अहिले निर्वाचन आयोग पुगेका छन्।

बहुमत केन्द्रीय सदस्य आफूहरूसँग रहेको हुँदा पार्टीको नाम, झन्डा र सूर्य चुनाव चिह्न आफूले पाउनुपर्ने दाबी पेस गर्न दुवै अध्यक्षसहित प्रचण्ड-नेपाल नेकपाको टोली केही बेरअघि आयोगमा पुगेको हो।

टोलीमा राजेन्द्र पाण्डे, वर्षमान पुन, घनश्याम भुसाललगायत नेता छन्।

आधिकारिक दल रहेको दाबी पेस गर्न बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइने नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

सोमबार बसेको यो पक्षको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगमा रितपूर्वक आधिकारिकताको दाबी गर्ने निर्णय गरेको थियो। सोहीअनुसार त्यससम्बन्धी जिम्मेवारी लिएका नेकपाका नेता आज (मंगलबार) बिहान निर्वाचन आयोग गएका हुन्।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता दाबी गरिने प्रचण्ड-नेपाल पक्षले जनाएको छ।

आवश्यक कागजात माग गरी आयोगले पहिले दुवैपक्षबीच सहमतिको प्रयास गर्छ। सहमति नभएमा ४४ को उपदफा ६ अनुुसार जुन पक्षसँग बहुमत सदस्य छन्, सोही पक्षलाई विवाद उत्पन्न हुनुअघिको दलको मान्यता दिई अर्को पक्षलाई छुट्टै राजनीतिक दलका रूपमा मान्यता दिई दर्ता गर्ने व्यवस्था छ।

यो पनि: नयाँ दफाअनुसार नाम र सूर्य चिन्ह दाबी गर्न आयोग जाँदै प्रचण्ड–नेपाल पक्ष

यसअघि प्रचण्ड–नेपाल पक्षले पार्टी विभाजन नभई कारबाही गरेर केपी ओलीलाई हटाएको दाबी गरेका थिए।

यसपटक भने प्रचण्ड–नेपाल पक्षले पार्टी विभाजन भएको र बहुमतभन्दा बढी केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दाबी आयोगमा पेस गर्न लागेका हुन्।

पहिले प्रचण्ड–नेपाल र ओली दुवै समूहले सोही ऐनको दफा ५१ अनुसार आफ्नो पक्षले गरेका निर्णयलाई वैधानिकता दिन पत्राचार गरेका थिए।

तर आयोगले नेकपाको वर्तमान विधानअनुसार दुवै अध्यक्षको हस्ताक्षरबिना पार्टी संरचना र विधानमा कुनै हेरफेर गर्न नमिल्ने बताएको थियो।

प्रचण्ड–नेपाल पक्षले ओलीलाई अध्यक्ष पदबाट हटाई सो ठाउँमा माधवकुमार नेपाललाई चयन गरेको हुँदा सोहीअनुसार अद्यावधिक गर्न पत्राचार गरेको थियो।

अर्कातर्फ ओली पक्षले पनि केन्द्रीय कमिटीको संख्या विस्तार ११ सय ९९ पुर्‍याएको र त्यसलाई मान्यता दिन भनी पत्राचार गरेको थियो।

तर आयोगले दुवै पक्षका निर्णयलाई मान्यता दिन अस्वीकार गरेको थियो।

प्रचण्ड-नेपाल पक्षका नेता पाण्डेले नेकपाको हाल कायम ४ सय ३१ केन्द्रीय सदस्यमध्ये २ सय ८० जना सोमबारको बैठकमा उपस्थित भएको बताएका छन्। सोही बैठकले निर्वाचन आयोगमा रितपूर्वक पार्टी आधिकारिकताको दाबी गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad