चीनले आफ्नो भूमि भएको दाबी गर्ने तााइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँदै आएको छ।
अमेरिकाको नयाँ सरकारले त्यसमाथि ताइवानलाई समर्थन गर्ने प्रतिवद्धता जनाएपछि चीन रुष्ट बनेको छ।
आफ्ना युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा दोहोर्याउँदै पठाउने गरेको चीनले गत बिहीबार अमेरिकालाई इंगित गर्दै स्वतन्त्र ताइवानको प्रयासले युद्ध निम्त्याउने चेतावनी दिएको हो।
ताइवानले आफ्नो क्षेत्रमा र सीमा नजिक चिनियाँ सैन्य गतिविधि अवैधानिक भएको बताउँदै आएको छ।
चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले ताइवान नजिकैका क्षेत्रमा चिनियाँ सैन्य गतिविधिको बचाउ गर्दै भनेका छन्,‘वर्तमान सुरक्षा स्थितिलाई सम्बोधन गर्न र राष्ट्रिय सार्वभौमिकताको सुरक्षाको लागि यी कार्यहरु आवश्यक छन्।’
‘सो कार्य स्वतन्त्र ताइवानको पक्षमा रहेका समूह, बाह्य हस्तक्षेप र उत्तेजनालाई गम्भिर जवाफ हो’उनले भने,‘हामी ती स्वतन्त्र ताइवानका पक्षधरलाई चेतावनी दिन्छौंः आगोसँग खेल्नेहरु आफैं जल्नेछन् र स्वतन्त्र ताइवानको प्रयास भनेको यद्ध हो।’
चीनको विदेशमन्त्रालयले यसअघि ट्रम्प प्रशासनको कार्यकाल सकिनै लाग्दा तत्कालिन विदेशमन्त्री माइक पोम्पिओले ताइवानको भ्रमण गरे चिनियाँ युद्धक विमानहरु त्यहाँ आक्रमणका लागि पुग्ने चेतावनी दिएको थियो।
ताइवानलाई आफ्नो प्रान्त मान्ने चीनले आफूले चाहेमा उक्त क्षेत्रलाई आक्रमण गरेरै कब्जा गर्नसक्ने बताउँछ।
यसबीचमा ताइवानले अमेरिकाबाट चिनियाँ खतरासँग जुध्न भन्दै अत्याधुनिक हतियार खरिद गर्ने सम्झौताहरु गरेको छ। यस कार्यले चीन अमेरिकासँग थप चिढिएको छ।
आफूलाई स्वतन्त्र राष्ट्र भएको बताउने ताइवानको आफ्नै संविधान, सेना र निर्वाचित सरकार छ। ताइवानकी राष्ट्रपति साइ इंग–वेनले दोहोर्याउँदै चिनियाँ प्रणाली आफ्नो देशमा नचल्ने बताउँदै आएकी छिन्।
हालै अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कनले दक्षिण चीन सागरमा चिनियाँ दाबी अस्वीकार गर्ने बताएका थिए।
उनले त्यस क्षेत्रमा युद्ध भएमा आफूहरुले फिलिपिन्सलाई सहयोग गर्ने बताएका थिए। चीनसँगै फिलिपिन्सले पनि दक्षिण चीन सागरमा दाबी प्रस्तुत गरेको छ।
तर सबैलाई अटेर गर्दै चीनले उक्त समुद्री क्षेत्रमा कृत्रिम टापु बनाएको छ। उक्त कार्यको फिलिपिन्स लगायत अन्य दाबीकर्ता मूलुकले विरोध जनाएका छन्।
अमेरिकाको नयाँ सरकार र चीनबीचको सम्बन्ध सुमधुर हुने अनुमानकाबीच सुरुवातमै सम्बन्धमा चिसोपना थपिएको देखिएको छ।
चीन र ताइवानबारे तथ्य
–सन् १९४९ मा समाप्त भएको चिनियाँ गृहयुद्धपछि नै चीन र ताइवानको अलग–अलग सरकार छ। बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ। उनीहरु दुबै प्रशान्त क्षेत्रमा प्रभावशाली बन्न चाहन्छन्।
–बेइजिङले यस टापु फिर्ता लिन शक्ति प्रदर्शन गरिरहेको छ। त्यसकारण हालका वर्षहरूमा यहाँ तनाव बढेको छ।
–ताइवानलाई थोरै राष्ट्रहरुले मात्र मान्यता दिएको छ। ताइवानलाई साथ दिने अमेरिकाले ताइवासँग स्वतन्त्र कुटनीतिक सम्बन्ध जोडेको छैन। बीबीसी

प्रतिक्रिया