राजनीति


दुवै समूहले बोलाइरहेका छन्, जता अध्यक्ष पाउँछु उतै लाग्छु : वामदेव गौतम

दुवै समूहले बोलाइरहेका छन्, जता अध्यक्ष पाउँछु उतै लाग्छु : वामदेव गौतम

नेपालखबर
माघ १३, २०७७ मंगलबार ४:५०,

नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताएका छन्।

पत्रकारसँग कुरा गर्दै सोमबार उनले भने, ‘आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ, यसले अब पार्टी एकतामा सहयोग गर्दछ।’

उनले एकता अभियान सर्वोच्च अदालतको निर्णयपछि झन् सशक्त हुने भन्दै त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना आवश्यक रहेको बताए।

उनले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पनि आफूले एक गराएको भन्दै पुनः अहिले फुट्न थालेको पार्टीलाई पनि एक बनाउने प्रतिबद्धता व्यक्त गरे। 

‘त्यति बेला नै मैले एमाले र माओवादी केन्द्रलाई एक बनाइ नेकपा बनाएको थिएँ,’ उनले भने, ‘अब पनि एकता अभियानबाट म दुवै समूहलाई एकतामा ल्याउँछु।’

उनले ओली र दाहाल–नेपाल समूह दुवैको जित हुने गरी अबको एकता हुने दाबी गरे।

नेता गौतमले दुवै समूहलाई एकतामा ल्याउनका लागि यही माघ १४ गतेदेखि पार्टी एकता राष्ट्रिय अभियान घोषणाको तयारी गरेका छन्। एकता अभियानका संयोजकमा गौतम स्वय‌ं, सह-संयोजकमा हरि पराजुली र सचिवमा बाबुराम थापा छन्।

एकता अभियानसँगै नेता गौतमले लेखेका ‘जनताको बहुदलीय जनवाद’ (तुलनात्मक अध्ययन), ‘२१औं शताब्दीको कम्युनिस्ट पार्टी’ र ‘नेपाली जनताको समृद्धिको कार्यक्रम र बहुदलीय समाजवाद’ तीन पुस्तक सार्वजनिक गर्ने कार्यक्रम छ।

अभियान घोषणाको दिन ५१ केन्द्रीय सदस्य र १७५ कार्यसम्पादन समिति घोषणा गरिनेछ। उनले आफ्नो दुवै पक्षका ठूला नेताको साथ आफूलाई नभए पनि साना नेता भने साथ रहेको स्पष्ट पारे।

उपाध्यक्ष गौतमले नेकपाको अन्तरिम विधानमा पनि सहमतिमै पार्टी चल्ने भएकाले कसैको इच्छा लाग्दैमा पार्टी फुटाउन नपाइने बताए।

दुवै अध्यक्ष सहमत भए मात्र पार्टी फुट्ने उनको भनाइ छ। उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले आफ्नो समूहमा आउन बोलाइरहेको बताए।

उनले आफू जता गए पार्टी एकता हुन्छ त्यतै जाने बताए। ‘म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन,’ उनले भने, ‘जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु।’

उपाध्यक्ष गौतमले आफूले पार्टीमा गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको बताए।

‘मैले पार्टीमा गुटबन्दी नगरेकाले मसँग कोही पनि केन्द्रीय सदस्य छैनन्, मसँग अहिले हरि पराजुलीभन्दा कोही छैनन्,’ उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad