ad ad

राजनीति


आन्दोलनरत नेकपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने, यस्तो छ तयारी

आन्दोलनरत नेकपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने, यस्तो छ तयारी

नेपालखबर
माघ ९, २०७७ शुक्रबार २:१२,

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलनरत नेकपाले आज (शुक्रबार) राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ।

उपत्यका बाहिरका जिल्लाबाटसमेत नागरिक उतारेर नेकपा (प्रचण्ड-नेपाल समूह)ले आज दिउँसो राजधानी काठमाडौंमा वृहत प्रदर्शन गर्न लागेको हो। जनप्रदर्शनको पूर्वसन्ध्यामा बिहीबार साँझ नेकपाका युवा विद्यार्थीले काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेका छन्।

संविधानको रक्षा र विघटित संसद् पुनस्र्थापनाको निम्ति आधार खडा गर्ने उद्देश्यले जनप्रदर्शन गर्न लागिएको संघर्ष समितिका संयोजकसमेत रहेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सत्ताको दबाबमा नपरी संविधानले निर्दिष्ट गरेको भूमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्न संवैधानिक अंगहरुलाई यो संघर्षले उचित वातावरण निर्माण गर्नेछ।’

दिउँसो १२ बजेबाट राजधानीका नौ ठाउँबाट स्थायी समिति सदस्यहरुको नेतृत्वमा सुरु हुने जुलुस भृकुटी मण्डपमा पुगेर बिरोध समाभा परिणत हुने कार्यक्रम छ। माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट जुलुश सुरु हुने नेकपाले जनाएको छ।

सबैतिरको जुलुस सुरुमा रत्नपार्कमा जम्मा हुनेछ। त्यहाँबाट एकीकृत जुलुस पुनः भद्रकाली, शहिदगेट, सुन्धारा हुँदै भृकुटी मण्डपमा पुगेर सभामा परिणत हुने कार्यक्रम छ।

जुलुसको नेतृत्व पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुले गर्नेछन्। सभालाई अध्यक्षद्वय प्रचण्ड र नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

जुलुस र सभाका लागि २ हजार स्वयंसेवक परिचालित गरिने नेकपाले जनाएको छ। प्रदर्शनको लागि बागमती, गण्डकी र प्रदेश २ का विभिन्न जिल्लाबाट बिहीबार साँझदेखि नै नेता कार्यकर्ता राजधानी पुग्ने क्रम सुरु भइसकेको छ। कतिपय जिल्लाबाट बस रिजर्भ गरेर बिहीबार साँझै कार्यकर्ताहरु काठमाडौं पुगिसकेका छन्।

जुलुश प्रदर्शनका लागि संघर्ष समितिले निश्चित पेशागत समूह र क्षेत्रगत रुपमा ठाउँ निर्धारण गरेको छ। माइतीघरबाट सुरु हुने प्रदर्शनमा काठमाडौं–१ र २, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, पेशागत संगठन, प्रेस संगठन, बुद्धिजीवी, प्राध्यापक, वकिल, इन्जिनियर र प्रदेश २ का जिल्लाबाट आउने नागरिक सहभागी हुनेछन्। यो प्रदर्शनको अगुवाइ लीलामणि पोख्रेल, गिरिराजमणि पोखरेल, मातृका यादव, हरिबोल गजुरेल, गणेश साह र पेशल खतिवडाले गर्नेछन्।

त्यसैगरी डिल्लीबजारबाट सुरु हुने प्रदर्शनमा काठमाडौं–३, ४ र ५ नम्बर क्षेत्रबाट आउनेहरु सहभागी हुनेछन्। जसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले गर्नेछन् भने लैनचौरबाट निस्कने जुलुसमा काठमाडौं–६ र ७, नुवाकोट र रसुवाबाट आएका प्रदर्शनकारी सहभागी हुने छन्। यो जुलुसको नेतृत्व भीम रावल, शक्ति बस्नेत र नन्दकुमार प्रसाईले गर्ने तयारी छ।

त्रिपुरेश्वरबाट निस्कने जुलुशमा काठमाडौं–८, ९ र १०, धादिङ, चितवन, मकवानपुर र गण्डकी प्रदेशबाट आउने नागरिक सहभागी हुनेछन्। जसको अगुवाई देवेन्द्र पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले गर्नेछन् । कुपण्डोलबाट सुरु हुने जुलुशमा ललितपुर जिल्लाका अलावा खेलकुद र सुकुम्बासी संगठनमा आवद्धहरु सहभागी हुनेछन्। जसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त र नन्दकुमार थापाले गर्नेछन्।

प्रदर्शनीमार्गबाट सुरु हुने जुलुसमा सम्पर्क कमिटी, आदिवासी जनजातिसहितका जनसंगठनकाहरु सहभागी हुनेछन्। जसको नेतृत्व घनश्याम भूसाल र जनार्दन शर्माले गर्ने कार्यक्रम छ। शान्तिबाटिकाबाट मजदुरको जुलुश निस्कने छ, जसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठले गर्नेछन्।

त्रिचन्द्र कलेजबाट विद्यार्थीको जुलुश निस्कने छ। जसको नेतृत्व देव गुरुङ, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने र हितमान शाक्यले गर्नेछन्।

त्यसैगरी पेशागत क्षेत्रका सवै संगठनको जुलुश वाल्मिकी क्याम्पसबाट सुरु हुने कार्यक्रम छ। जसको नेतृत्व अमृत बोहोरा, मुकुन्द न्यौपाने र विष्णुपुकार श्रेष्ठले गर्ने संघर्ष समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .