ad ad

राजनीति


भारतीय राजदूत क्वात्राले गरे १० लाख कोरोना खोप नेपाललाई हस्तान्तरण

भारतीय राजदूत क्वात्राले गरे १० लाख कोरोना खोप नेपाललाई हस्तान्तरण

नेपालखबर
माघ ८, २०७७ बिहिबार ७:३३,

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतले अनुदानमा दिएको १० लाख डोज कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेका छन्।

बिहीबार त्रिभुवन विमानस्थलमा भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्री हृदेयश त्रिपाठीलाई सो खोप हस्तान्तरण गरेका हुन्।

‘कोभिसिल्ड’ खोप एयर इन्डियामार्फत बिहीबार बिहान नेपाल आइपुगेको हो।

Covid vaccine2

भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले नेपाललाई अनुदानमा दिएको हो। उक्त खोपको प्रभावकारिता औसतमा ७० प्रतिशत रहेको पाइएको छ।

खोपलाई त्रिभुवन विमानस्थलबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको कोल्डस्टोरमा ल्याइएको छ। त्यहीँबाट आवश्यकताअनुसार प्रदेश, जिल्ला तथा स्थानीय तहमा खोप पठाउने तयारी स्वास्थ्य सेवा विभागले गरेको छ। कोल्डचेनसहितको खोप भ्यानमार्फत स्थानीय तहमा खोप पुर्‍याउने विभागको तयारी छ।

Covid vaccine5

मन्त्रालयका अनुसार उपत्यकासहित, विराटनगर, पथलैया, हेटौँडा, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीमा कोल्डस्टोरहरु तयारी अवस्थामा राखिएको छ। तिनै कोल्डस्टोरमा पुगेका खोप अस्पतालहरुमार्फत लगाइनेछ।

‘भारतबाट आउने पहिलो चरणको खोप ७७ वटै जिल्लाका अस्पतालहरुबाट एकैपटक लगाइन्छ,’ स्वास्थ्यमन्त्रालयका सह प्रवक्ता डा. समिरमणि अधिकारीले भने, ‘उक्त खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइन्छ।’

Covid vaccine 3

स्वास्थ्य मन्त्रालयले गठन गरेको खोप विज्ञ समूहका सदस्य डा. झलक शर्मा गौतमका अनुसार नेपालका २ करोड १६ लाख जनतालाई खोप लगाउने सरकारको तयारी छ। त्यसका लागि खेर जाने समेत जोडेर करिब ५ करोड डोज खोप चाहिने आकँलन गरिएको छ।

पहिलो चरणमा दिइने खोपका लागि स्वास्थ्य मन्त्रालयले यसअघि नै स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिएकाहरुको तथ्यांक संकलन सुरु गरेको थियो।

 Covid vaccine 4

जसअनुसार अग्रपंक्तिमा खटिएकाहरुको संख्या नेपालमा ९ लाख हाराहारीमा रहेको र त्यसका लागि दुई डोज लगाउन (खेर जाने मात्रा समेत जोडेर) २० लाख खोप आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ।

भारतबाट आएको खोप भने करिब पाँच लाख अग्रपंतिमा खटिएकालाई लगाउने पुग्नेछ। बाँकी खोपको खरिद प्रक्रिया अघि बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Covid vaccine1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .