प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन्।
बुधबार बिहान काठमाडौँमा सम्पादकहरुसँगको अन्तरक्रियामा प्रचण्डले ओली यतिबेला आफ्नो गल्ती स्वीकार्ने पक्षमा नरहेकाले तत्काललाई एकताको कुनै सम्भावना नरहेको बताएका हुन्।
उनले ओली पश्चताप गर्न भन्दा पनि पार्टी नै विभाजन गर्न उद्दत भएको आरोप लगाए। केपी ओलीसँग आाफूहरुको संघर्ष पद र प्रतिष्ठाको नभई विचार र पद्दतिको भएको उनको भनाइ थियो।
‘उहाँले संसद विघटन गर्नु मैले गम्भीर गल्ती र अपराध गरेँ भनेर आत्मआलोचना गर्ने स्थिति पनि छैन। पार्टी विभाजन गर्नु मैले गल्ती गरेँ। सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा संसदीय दलमा अल्पमतमा परेपछि पार्टी अनुशासन मानेर छाडिदिनु पर्दथ्यो भन्ने मान्यतामा पनि उहाँ हुनुहुन्न’, प्रचण्डले भने, ‘कुर्सी नै भाच्ने, घरमै आगो लगाएर हिँड्ने स्थितितिर गइसक्नु भयो। त्यसैले तत्काल एकताको सम्भावना देख्दिनँ र छैन पनि।’
उनले राजनीतिमा ५/७ वर्षपछिको कुरा भन्न नसकिने भन्दै अहिलेका लागि एकता सम्भव नभएको बताएका हुन्।
यहाँसम्म राजनीतिक परिस्थिति कसरी आइपुग्यो र अबको रणनीति के हुन्छ भन्ने विषयमा आफ्नो पार्टीले श्वेतपत्र नै जारी गर्ने तयारी गरिरहेको जानकारी पनि प्रचण्डले दिए।

प्रतिक्रिया