ad ad

राजनीति


कञ्चनपुरमा एसएसबीको अवरोधले किसानको उखु खेतमै सुक्न थाल्यो

कञ्चनपुरमा एसएसबीको अवरोधले किसानको उखु खेतमै सुक्न थाल्यो

नेपालखबर
माघ २, २०७७ शुक्रबार ११:१७,

कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा भारतीय अर्धसैनिक बल (एसएसबी) ले स्थानीय किसानले वर्षाैंदेखि प्रयोग गर्दै आएको बाटोमा अवरोध खडा गरेको छ।

बेलौरी नगरपालिका–१०सडकघाटस्थित सीमा स्तम्भ न. ३५ नजिक रहेको अस्थायी सडक प्रयोग गर्न एसएसबीले अवरोध गरेको हो।  

किसानले सोही बाटो भएर आफ्नो उत्पादन मिलमा लैजाने गरेकोमा एसएसबीको अवरोधपछि किसानले काटेको उखु खेतमै सुक्ने अवस्था आएको छ।

अहिलेसम्म प्रयोग गर्दै आएको बाटोलाई ‘नो मेन्स लेण्ड’ भन्दै भारतीय पक्षले अवरोध गरेपछि किसानले काटेको उखु मिलमा लैजान नपाएका अन्तर्राष्ट्रिय सीमा सरोकार समितिका संयोजक पल्लवराज भट्टले बताए।

एसएसबीले केही समय अघि बनाएको अस्थायी पोष्ट स्थानीय जनता र सशस्त्र प्रहरीले हटाइदिएपछि एसएसबीले नेपालीलाई दुःख दिन खोजेको उनको भनाई छ।

‘स्ट्रिप नक्सा अनुसार पनि नो मेन्स लेण्ड कम्तिमा एक सय ५० मिटर पर पर्छ’ भट्टले भने, ‘तर एसएसबीले अस्थायी पोष्ट हटाइदिएको इगो साँध्न बाटो नै प्रयोग गर्न रोकेका छन्। त्यसले गर्दा किसानलाई ठूलो मर्का परेको छ।’

उनले नेपाली र भारतीय दुवै पक्षले सोही बाटो प्रयोग गर्ने गरेको भएपनि भारततर्फ वैकल्पिक बाटो रहेको र नेपालतर्फ नहरको टर्सरी रहेका कारण किसानले काटेको उखु खेतमै सुक्ने अवस्था आएको बताए।

अस्थायी पोष्ट हटाएपनि ट्रकमा आएर साही स्थानमा बस्ने र नेपालीलाई दुःख दिने गरेको भन्दै उनले सम्बन्धित निकायले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .