नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर आफूले असंवैधानिक काम गरेको कबुल गरिसकेको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै नेता पौडेलले प्रधानमन्त्री ओलीले आफ्नो कदम संवैधानिक नभइ राजनीतिक भएको स्वीकार गरिसकेको बताएका हुन्। उनले प्रतिनिधि सभा विघटनविरूद्ध सशक्त संघर्षमा उत्रन सबैमा आग्रह समेत गरे।।
‘प्रधानमन्त्री ओली आफैँ भनिरहेका छन्– यो विधि-विधानको कुरा होइन। यो त राजनीतिक निर्णय हो। उनले आफूले वैधानिक काम गरेको छैन भन्ने कुरा आफैँले कबुल गरेका छन्, स्वीकार गरेका छन्’, भिडिओ सन्देशमा पौडेलले भनेका छन्।
उनले प्रधानमन्त्रीको यो कदमले देशलाई अन्धकारतिर लैजाने बताए। उनले प्रतिनिधि सभा विघटनले संविधानमा क्षति पुर्याएको र व्यवस्थामाथि प्रहार गरेकाे बताए।
‘प्रतिनिधि सभा विघटनले नेपालको संव्धिानमा ठूलो क्षति पुगेको छ’, उनले भने, ‘७० वर्ष लगाएर बनाएको संविधानसभामार्फत बनाएको संविधान र व्यवस्थामा प्रहार भएको छ।’
नेता पौडेलले प्रधानमन्त्रीको कदम देशलाई राजनीतिक भूमरी र संकटमा धकेल्ने प्रपञ्च भएका कारण डटेर विरोध गर्नु पर्ने बताए। उनले जनताको आवाजलाई अदालतले सुन्नुपर्ने बताए।
‘देशलाई राजनीतिक अस्थिरताको भुमरीमा फसाउने र मुलुकलाई संकटतिर धकेल्ने यो प्रपञ्च भएको हुनाले सारा जनताले डटेर विरोध गर्न सक्यौं, आवाज उठाउन सक्यौं भने सर्वोच्च अदालतसम्म पुग्छ’, उनले भने।
उनले प्रतिनिधि सभा विघटनको निर्णय नसच्याएमा अनर्थ हुने बताए।

प्रतिक्रिया