प्रसिद्ध नायिका तथा सामाजिक अभियन्ता मनीषा कोइरालालाई पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि दिन प्रशासनले अवरोध गरेपछि उनले सरकारप्रति आक्रोश व्यक्त गरेकी छन्।
उनी आज सोमबार परेको पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्तीमा सिंहदरबारको मूलगेट अगाडि रहेको शालिकमा माल्यार्पण गर्न जाँदा उनलाई अवरोध गरिएको काेइरालाले बताएकी छन्।
उनले केहि दिनपहिले पनि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन आग्रह गरेकी थिइन् भने उनी त्यससम्बन्धी आयोजक समितिमा समेत रहेकी छन्।
‘मैले आशा गरेकी थिएँ कि जनताको राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्नेछ। तर उसको व्यवहार ठीक उल्टो देखियो। पृथ्वीनारायणको शालिक अगाडी नै सरकारको यो आपत्तिजनक कार्य?’ प्रशासनको अवरोधपछि कोइरालाले ट्विटरमा लेखेकी छन्, ‘पानीको फोहरा र टियर ग्याससहित नै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?’
उनले आइतबारदेखि नै सामाजिक सञ्जालमा समेत पौष २७ गते ११ बजे रत्नपार्क शान्ति वाटिका जाऊँ, २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोहमा सहभागिता जनाउँ भनी आह्वान गरेकी थिइन्।
‘नेपाली नागरिक हुनुको कर्तव्य निर्वाह गरौं, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहप्रती सम्मान प्रकट गरौं,’ भन्ने उनको आह्वान थियो।

प्रतिक्रिया