लामो समयदेखि अमेरिकाले ताइवानका अधिकारीसँगको सम्पर्कमा प्रतिबन्ध लगाएको थियो। तर यतिबेला उक्त प्रतिबन्धलाई अमेरिकाले हटाइदिएको छ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले प्रतिबन्ध हटाएको जानकारी दिएका हुन्। यसको अर्थ अमेरिकाले ताइवानसँग सम्बन्ध विस्तार गर्न लागेको छ।
ट्रम्प सरकारको कार्यकाल सकिन लाग्दा अमेरिकाले चीनलाई चिढ्याउने कदम चालेको हो।
ताइवानलाई अमेरिकाले हतियार बेच्ने सम्झौता गरेपछि र अमेरिकी पानी जहाजहरु ताइवान र चीनको समुन्द्री सीमा प्रवेश गरेदेखि नै चीन अमेरिकासँग क्रुद्ध छ।
झन् यस कार्यले ताइवान आफ्नो भूमि भएको दाबी गर्ने चीन निकै रुष्ट बन्ने निश्चित छ। अमेरिकी कदमले चीन र अमेरिकाको तनाव थप चर्किने आशंका गरिएको छ।
पोम्पिओले शनिबार भनेका छन्,‘अब अमेरिका–ताइवान सम्बन्धमा कुनै बाधा आउने छैन।’ ताइवानलाई उनले लोकतान्त्रिक देश पनि भनेका छन्।
Today, I am lifting all self-imposed restrictions on executive branch agencies’ interactions with their counterparts from Taiwan. This action will benefit both of our great democracies. https://t.co/JmxE5jsZYf
उनले ट्वीटमा भनेका छन्,‘ताइवान र अमेरिकाबीचको घनिष्ठ साझेदारी साझा मूल्य, साझा चासो, स्वतन्त्रता र लोकतन्त्रको अटल विश्वासमा आधारित छ।’
गत अगष्टमा अमेरिकी स्वास्थ्यमन्त्री एलेक्स अजर ताइवान भ्रमणमा गएका थिए। दशकौंपछि ताइवान भ्रमण गर्ने उनी पहिलो वरिष्ठ अमेरिकी राजनीतिज्ञ थिए।
त्यसबेला चीनले अमेरिकालाई ‘एक चीन नीति’ सम्मान गर्न चेतावनी दिएको थियो।
ताइवानलाई चीनले आत्रमण गरेरै कब्जा गर्ने चेतावनी दिइरहँदा ताइवानमा अमेरिकी गतिविधि बढिरहेको हो।
ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँदै आएको छ। त्यहाँ लोकतान्त्रिक रुपमा सरकार चुनिने गरिन्छ।
पछिल्लो समय चीनले ताइवानको हवाई क्षेत्रहरुमा आफ्नो युद्धक विमान पठाइरहेको छ। ताइवान अलग्याउने शक्तिबाट खतरा उत्पन्न भएको बताउँदै चिनियाँ राष्ट्रपति सीले युद्धका लागि तयार हुन निर्देशन नै दिएका छन्। एजेन्सी

प्रतिक्रिया