राजनीति


प्रदेश २ मा सांसद तानातान, प्रचण्ड पक्षका ४ सांसद ओलीतिर लागे

 प्रदेश २ मा सांसद तानातान, प्रचण्ड पक्षका ४ सांसद ओलीतिर लागे

शैलेन्द्र महतो
पुस १६, २०७७ बिहिबार ४:१७,

सत्तारुढ नेकपाको फुटपछि दुबै पक्ष सांसद तानातानमा लागेका छन्। जसको कारण ६ वटा प्रदेशमा नेकपा नेतृत्वको सरकार ढल्ने अवस्था सिर्जना भएको छ।

प्रदेश २ मा पनि सांसद तान्ने होड सुरु भएको छ। यो प्रदेशमा नेकपाका ३२ जना सांसद छन्। अर्का पक्षको सांसद आफ्नो पक्षमा तानेर बलियो देखिने होड प्रदेश २ मा पनि सुरु भएको छ।

प्रदेशसभामा तत्कालीन एमालेबाट २१ र पूर्वमाओवादीबाट ११ जना सांसद छन्। केही दिन अघिसम्म प्रचण्ड पक्षमा रहेका ४ जना जना सांसद ओलि कित्तामा लागेका छन्।

जनयुद्धदेखि नै सदैव प्रचण्डका विश्वास पात्रको रुपम चिनिएका सांसद रामचन्द्र मण्डल ओली कित्तामा खुलेका छन्। मण्डलसँगै प्रचण्डपक्षकै सांसद ज्वाला कुमारी साह पनि बुधबारदेखि ओली पक्षमा गएकी छन्।

बुधबार वीरगञ्जमा भएको नेकपा (ओली पक्ष) को प्रदेश २ स्तरीय भेलामा प्रचण्ड पक्षका चार सांसद पनि सहभागी भएका मण्डलले जानकारी दिए।

केहिदिन अघि मात्र ओली पक्षमा लागेर सहरी विकासमन्त्री नियुक्त प्रभु साह निकट प्रदेश सांसद कुन्दनकुमार कुशवाहा र महोम्मद समीर पनि ओली पक्षमा लागेका छन्।

मण्डलका अनुसार प्रचण्डपक्षका ११ मध्ये ४ जना सांसद ओली पक्षमा पूर्णरुपले खुलिसकेका छन्। ‘अझै केही सांसद अन्यौलमा छन्, उनीहरु पनि यतै आउने सम्भावना छ,’ ओलीको पक्ष लिँदै सांसद मण्डलले भने, ‘प्रदेश २ मा रहेको नेकपाको ३२ सांसद दुबै पक्षमा आधाआधा रहने सम्भावना छ।’

चार सांसदले ओलीको समर्थन गरेपछि अब प्रदेश २ मा प्रचण्ड पक्षमा ७ जना सांसद मात्रै बाँकी छन्। जगत प्रसाद यादव, दिलिपकुमार साह, प्रमिलाकुमारी यादव, फुलियादेवी सदा, भरतप्रसाद साह, रामकुमार यादव, रुबीकुमारी कर्ण अहिलेसम्म प्रचण्ड पक्षमा छन्।

आज (बिहीबार) प्रचण्ड–नेपाल पक्षको भेला जनकपुरमा राखिएको छ। सो भेलापछि प्रचण्ड–नेपाल र ओली पक्षका सांसदबीच अझ कित्ता क्लियर हुने अपेक्षा गरिएको छ।

अहिलेसम्म प्रदेश २ मा बहुमत सांसद प्रचण्ड–नेपाल पक्षमै छन्। प्रचण्ड–नेपाल पक्षका सांसद सत्रुधन महतोले ३२ मध्ये १८ जना सांंसद आफ्नो पक्षमा रहेको दाबी गरे। ‘१८ जना सांसदले प्रचण्ड-नेपाल पक्षमा रहने भनेर हस्ताक्षर नै गरिसकेका छन्। १/२ जना अन्यौलमै छन् । उनीहरु यतै खुल्न पनि सक्छन्,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .