समाज


एक-एक रुपैयाँ दानबाट लुम्बिनीमा बनाइँदै ‘विश्व शान्ति बाटिका’

एक-एक रुपैयाँ दानबाट लुम्बिनीमा बनाइँदै ‘विश्व शान्ति बाटिका’

प्रकाश न्यौपाने
पुस १६, २०७७ बिहिबार ४:१७,

बुद्ध जन्मस्थल लुम्बिनीमा महासिद्ध विश्व शान्ति बाटिका (सेन्चुरी फर युनिभर्सल पिस) निर्माण भइरहेकाे छ।त्यसका लागि लुम्बिनीमा मुठ्ठीदान अभियान थालिएकाे छ। 

मुठ्ठीदान कार्यक्रममा सहभागी हुन नेपाल विद्युत् प्राधिकरणका पूर्वनिर्देशक कुलमान घिसिङ बुधबार लुम्बिनी आएका थिए। उनले १ रुपैयाँ दान गर्दै विश्व शान्ति स्थल र बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीमा मुठ्ठी दान गर्न पाउँदा खुसी लागेको बताए। साथै सबैलाई मुठ्ठीदान गर्न आह्वान पनि गरे।

मुठ्ठीदानबाट लुम्बिनीमा बाटिका बनाई यसलाई विश्व शान्तिको सांस्कृतिक थलो बनाइने निर्माणकर्ताले जनाएका छन्।

धनी, गरिब सबैले एक-एक रुपैयाँ दिएर आफ्नाे पनि सहभागिता र लगानी छ भन्न सक्ने अपनत्व गराउन बाटिका निर्माणका लागि एक रुपैयाँमा मुठ्ठीदान अभियान चलाइएको निर्माणकर्ता धर्मगुरु स्याल्पा तेन्जिङ रिम्पुचेले जानकारी दिए।

लुम्बिनीमा निर्माणाधीन ‘सेन्चुरी फर युनिभर्सल पिस’ नामकाे बाटिकाका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसाला रुवान विराकुनले नेपाली एक रुपैयाँ दिएर मुठ्ठीदान अभियान सुरु गरेका थिए।

लाखौं लाख दान लिनुभन्दा पनि सबैको सहभागितामा बाटिका निर्माण गर्ने उद्देश्यले मुठ्ठीदान आह्वान गरिएको रिम्पुचेले बताए।

यो बाटिकामा विश्वका आध्यात्मिक गुरुहरु आएर ज्ञान, ध्यान गर्न सक्ने बताइएको छ।

नेपालबाट सुरु मुठ्ठीदान अभियानअन्तर्गत विश्वभर रहेका बुद्ध, हिन्दू, जैन, सिख गरेर ओमकार परिवारका  सदस्यबाट एक रुपैयाँ दान लिइनेछ।

बाटिकाभित्र बुद्धसँग सम्बन्धित विभिन्न पुस्तककाे संग्रह गरी पुस्तकालय बनाइने छ। यस्तै ध्यानस्थल, सभाकक्ष, शान्तिवार्ता कक्षलगायत निर्माण गरिनेछ। बाटिका अत्याधुनिक बन्ने निर्माणकर्ताले जनाएका छन्।

बाटिकाको डिजाइन जर्मनमा गरिएको थियो। विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बीलगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकले समेत साधना गर्ने स्थलका रूपमा २ वर्ष अघिदेखि लुम्बिनीमा बाटिका निर्माण भइरहेको हाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .