राजनीति


मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आज ७७ वटै जिल्लामा कार्यक्रम गर्ने

मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आज ७७ वटै जिल्लामा कार्यक्रम गर्ने

नेपालखबर
पुस १६, २०७७ बिहिबार ४:४८,

नेपाली कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवश मनाउँदै छ।

पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गतेलाई ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ।

दिवसका सन्दर्भमा कांग्रेसले आज देशका ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्याली, कोणसभालगायतका कार्यक्रम गरेर ४५औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेता गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै स्वदेश फर्किएका बिपी कोइरालाले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति र राजशक्ति (राजा) मिल्नुपर्ने अवधारणा अघि सारेका थिए।

तत्कालीन अवस्थामा नेपालको सार्वभौम सत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किएका नेता बिपी कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै पञ्चायती सत्ताले सुन्दरीजलमा लगेर फेरि बन्दी बनाइएको थियो।

यसअघि तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए।

शाही ‘कु’पछि कांग्रेस नेतालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी स्थानान्तरण गरिएको थियो।

नेपालमा केही समय जेल जीवन बिताइसकेपछि विसं २०२५ मा भारत प्रवासमा गएका कांग्रेस नेता राष्ट्रियतामाथि खतरा देखिएपछि आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किनुभएका थिए।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका जननायक बिपी कोइरालाले राजनीति मात्र होइन, नेपाली साहित्यमा पनि छुट्टै पहिचान बनाएका छन्। नेपालमा बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सार्नुभएको दृष्टिकोण अहिले पनि सान्दर्भिक मानिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad