संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेकपा (प्रचण्ड- नेपाल) समूहले आज (पुस १२ गते) देशका ७७ वटै जिल्लामा अगुवा कार्यकर्ता भेला आयोजना गर्दै छ।
प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध चरणवद्ध सडक संघर्षको घोषणा गरेको प्रचण्ड-नेपाल समूहले आज देशका सबै जिल्लामा अगुवा कार्यकर्ता भेला आयोजना गर्न लागेको हो।
पार्टी केन्द्रद्वारा घोषित कार्यकर्ता अभिमूखिकरण कार्यक्रम अन्तर्गत आज देशका ७७ वटै जिल्लामा अगुवा कार्यकर्ता भेला गर्न लागिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
९ पुसमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटन विरुद्ध देशव्यापी आन्दोलन चर्काउने निर्णय गर्दै चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको थियो।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै नेकपा (प्रचण्ड-नेपाल) समूहले त्यसविरुद्ध कानुनी र राजनीतिक लडाइँलाई सँगसँगै अघि बढाएको छ।
प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्न माग गर्दै नेकपाका सांसदले सर्वोच्चमा मुद्दा दायर गरेका छन्। त्यसैगरी आफू आधिकारिक नेकपा भएको दाबी गर्दै प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगमा पनि निवेदन दिइसकेको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले १४ पुसमा राजधानी काठमाडौंसहित देशका सबै जिल्लामा विरोध प्रदर्शन गर्दै छ।
Shares

प्रतिक्रिया