छापा खबर


कोरोना संक्रमण : भेन्टिलेटरमा राखिएका बिरामीको मृत्युदर बढ्न थाल्यो

कोरोना संक्रमण : भेन्टिलेटरमा राखिएका बिरामीको मृत्युदर बढ्न थाल्यो

नेपालखबर
पुस १२, २०७७ आइतबार २:४६,

मानिसमा कोरोना भाइरस सङ्क्रमण भइसकेपछि सबैभन्दा पहिला फोक्सोमा असर गर्दछ । छातीसम्बन्धी रोग लागिसकेका व्यक्तिलाई कोरोना सङ्क्रमणले झनै जटिल बनाउँछ।

कोरोनाका कारण मृत्यु हुनेमा पनि दीर्घरोगीहरू पर्ने भएकाले चिसोमा दम रोगीलाई अझ बढी जोगाउनुपर्ने चिकित्सकको भनाइ छ। यो खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।

चिकित्सकका अनुसार पछिल्लो समय दम रोगको समस्याबाट पीडित रहेका मानिस अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन्।

हल्का समस्या आउँदा घरमै बस्ने र जब मानिसलाई धेरै गाह्रो हुन थाल्छ, त्यो बेला मात्र अस्पताल पुग्ने हुँदा बचाउन कठिन हुन्छ। दम रोगीलाई जोगाउन घरमा पनि बढी स्याहार जरुरी हुन्छ।

चिकित्सककाअनुसार चिसोमा ननिस्कने, चिसो खानेकुरा नखाने र पिउन तथा नुहाउन तातोपानीको प्रयोगले दम रोगीको स्याहारमा सहयोग पुग्छ । कोरोनाको महामारीसँगै वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको छ।

वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा.राजु पङ्गेनीले पहिले भेन्टिलेटरमा राखेका ८० प्रतिशत मानिसलाई बचाउन सकिएकोमा पछिल्लो समय ५० देखि ६० प्रतिशतलाई मात्रै बचाउन सकिएको अनुभव सुनाए। कोरोनाले गर्दा मानिस अस्पताल नआउने, आइहालेमा पनि धेरै जटिल अवस्थामा मात्र आउने गरेकाले समस्या परेको उनको भनाई छ।

योबाहेक प्रदूषणकै कारण नेपालमा दम रोग बढेको छ । अक्सिजन लगाइरहने व्यक्तिले पनि विशेष सावधानी अपनाउनुपर्ने पंगेनी बताउँछन्। डा.पङ्गेनीका अनुसार प्रदूषणले उपत्यकामा दम रोगका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। वृद्धवृद्धा, शिशु र बालबालिकालाई अझ बढी जोखिम हुन्छ।

सहरी क्षेत्रका १५ प्रतिशत जनसङ्ख्यामा दमसम्बन्धी रोग लागेको जानकारी दिँदै उनले काठमाडौँका मुख्य अस्पतालमा दैनिक १५ देखि २५ जना व्यक्ति दमको समस्या लिएर आउने गरेको बताए।

तथ्याङ्कअनुसार विश्वमा २५ करोडभन्दा बढी मानिस दमका रोगी छन् । तीमध्ये प्रतिवर्ष ३० लाख मानिसको दम तथा खोकीकै कारण ज्यान जाने गर्दछ । यस्ता रोगीमध्ये ९० प्रतिशत नेपालजस्तो अल्पविकसित वा विकासशील मुलुकका नागरिक पर्छन् । चार वर्ष अघि गरिएको एक सर्वेक्षणमा नेपालमा नौ लाख ६० हजार मानिस दमका बिरामी रहेको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad