राजनीति


नेकपा विभाजनबारे बुझ्न आज काठमाडौं आउँदै चिनियाँ कम्युनिस्ट पार्टीको उच्च प्रतिनिधिमण्डल

नेकपा विभाजनबारे बुझ्न आज काठमाडौं आउँदै चिनियाँ कम्युनिस्ट पार्टीको उच्च प्रतिनिधिमण्डल

नेपालखबर
पुस १२, २०७७ आइतबार ३:२४,

संसद् विघटनपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमै विभाजन भएपछि चिन्तामा परेको चिनियाँ कम्युनिस्ट पार्टीले आज (आइतबार) आफ्नो अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा एक उच्च प्रतिनिधिमण्डल नेपाल पठाउँदै छ।

स्रोतका अनुसार आज काठमाडौं आइपुग्ने चिनियाँ कम्युनिस्ट पार्टीकाे टोलीले नेपालमा ४ दिनसम्म रहेर खासगरी नेकपा विभाजनका कारण खोतल्ने प्रयास गर्नेछ।

नेकपाको करिब दुईतिहाइ बहुमतको सरकार बनेपछि आर्थिक साझेदारी र ठूला लगानीका परियोजना अगाडि बढाउने चरणमा रहेको चीन अचानक प्रतिनिधिसभा विघटन भएर पार्टी नै विभाजित बनेपछि अप्ठेरोमा परेको छ।

तीन वर्षअघि तत्कालीन एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपा यसरी विभाजनसम्मै पुग्ला भन्ने उसले सोचेको थिएन।

चिनियाँ कम्युनिस्ट पार्टीकाे अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीउपमन्त्री गुओ नेतृत्वको प्रतिनिधिमण्डलले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेकपा नेताहरूसँग भेटवार्ता गर्ने तय भएको छ।

‘चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीको नेतृत्वमा आउने टोलीले अध्यक्ष नेपालसँग भेट्न समय लिएको छ,’  नेकपाका अध्यक्ष माधवकुमार नेपालनिकट एक नेताले नेपालखबरसँग भनेका छन्, ‘चिनियाँ नेताहरूको नेपाल भ्रमण चार दिनकाे रहेको बुझिएको छ।’

गुओ येचौ ३३ वर्षदेखि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा कार्यरत छन्। यसबीच बुल्गेरियाका लागि चिनियाँ राजदूत पनि बनेका उनी सन् २०१४ देखि अन्तर्राष्ट्रिय विभागमा उपमन्त्री बनेका हुन्। 

विभागका ४ उपमन्त्रीमध्ये गुओ सबैभन्दा वरिष्ठ हुन्। अन्तर्राष्ट्रिय विभागका मन्त्री सोङ ताओ छन्, जो राष्ट्रपति सी चिनिफङको भ्रमण तयारी क्रममा गत वर्ष नेपाल आएका थिए। अन्तर्राष्ट्रिय विभागका मन्त्री र उपमन्त्रीहरूको पदीय मर्यादाक्रम, सुविधा र जिम्मेवारी राज्यपरिषदका विदेशमन्त्री र उपमन्त्रीहरूको बराबर हुन्छ।

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलपछि सेना प्रमुख, विदेश सचिव र सत्तारुढ भाजपाका नेताको भ्रमणलगत्तै नेपालमा संसद् विघटन र नेकपा विभाजन भएपछि चीनले विश्लेषण गरिरहेको देखिन्छ।

नेकपा विभाजन भएलगत्तै चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड र नेपालसँग भेटवार्ता गरिसकेकी छन्। राजदूत होउले शुक्रबार नेकपा स्थायी समिति सदस्य कृष्णबहादुर महरासँग पनि भेटवार्ता गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad