सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी रिट सम्बन्धमा एमिकस क्युरी गठन गर्ने भएको छ।
आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको नेतृत्वमा बसेको पाँच सदस्यीय संवैधानिक इजलासले सो आदेश दिएको हो।
‘नेपाल बार एशोसियशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनसँग २ जना वरिष्ठ अधिवक्ता र अधिवक्ताहरु मध्येबाट अदालतको सहयोगी (एमिकस क्युरी) माग गर्नू,’ सो आदेशमा भनिएको छ।
इजलासले आफूसमक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानुनको प्राध्यापक, कानुन व्यावसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्याएको कुनै व्यक्तिलाई इजलासको मित्रहरु (एमिकस क्युरी) को रूपमा झिकाई निजको राय लिन सक्ने प्रावधान अनुसार गठन गर्ने भएको हो।
प्रधानन्यायाधीस राणसहित पाँच सदस्यीय संवैधानिक इजलासले शुक्रबार सरकार र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सिफारिसको सक्कल कागजात पुस १९ गतेभित्र पेस गर्न पनि आदेश दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम खारेज गरी प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै परेका १३ वटा रिटमाथि शुक्रबार सुनुवाइ भएको थियो।
‘सर्वाेच्च अदालतले मन्त्रिपरिषद्ले गरेको सिफारिसको सक्कल प्रति, राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको सक्कल प्रति, अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता भएको डकुमेन्ट पुस १९ गतेभित्र पेश गर्नू भन्ने आदेश दिएको छ,’ शुक्रबारको बहसमा सहभागी अधिवक्ता दिनेश त्रिपाठीले नेपालखबरसँग भने, ‘पुस २२ गतेदेखि रिटमाथि सर्वाेच्चमा निरन्तर बहस हुनेछ।’
बहसमा अधिवक्ताले उठाए यी सवाल
बहसको क्रममा अधिवक्ताहरुले संवैधानिक इजलासमा तोकिएका न्यायाधीश हरिकृष्ण कार्कीलाई राखेको विषयमा प्रश्न उठाएका थिए।
रिट निवेदकका तर्फबाट बहसमा भाग लिएका अधिवक्ता दिनेश त्रिपाठीले बेञ्चका विषयमा प्रश्न उठाएका हुन्।
‘उहाँ केपी शर्मा ओली सरकारको पालामा महान्यायाधिवक्ता हुनुहुन्थ्यो, ओलीकै नजिकका मान्छेले उहाँकै विरुद्धमा परेको मुद्दाको सुनुवाइ गर्न कसरी मिल्छ?,’ त्रिपाठीले प्रश्न गरेका थिए, ‘यो त स्वार्थ बाझिने कुरा भयो श्रीमान।’
तर, त्रिपाठीको सो प्रश्नलाई प्रधानन्यायाधीसले त्यस्तो प्रश्न गर्न नमिल्ने बताएका थिए।
आजको बहसमा, कृष्णप्रसाद भण्डारीसहित त्रिपाठी, हरिहर दाहाल, अमिता थापा, सरोज घिमिरे, शिवकुमार यादव, रुद्र शर्मा लगायतका वरिष्ठ अधिवक्ताहरुले बहस गरेका थिए।
Shares

प्रतिक्रिया