नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पूर्ण तागत संसदलाई जीवित राख्न र त्यहाँबाट जनताका काम गर्न लगाउने बताएका छन्।
बुधबार प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेता चयन भएपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले आफूले चुनौतीको समयमा ठूलो जिम्मेवारी प्राप्त गरेको भन्दै त्यसलाई बहन गरेर अगाडि बढ्ने बताए।
उनले आफ्नो प्रयास लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र र प्रतिनिधि सभालाई जीवन्त राख्नेमा केन्द्रित हुने बताए।
‘मेरो कोशिस नेपालमा नेपाली जनताले लामो समयदेखि गरेको संघर्षको परिणाम प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र र यो प्रतिनिधिसभालाई जीवन्त राख्नमा लगाउनेछु’ उनले भने, ‘मलाई विश्वास छ, नेपाली जनताको भरोसमा सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर, सबै मान्य सदस्यहरुको पनि विश्वास लिएर संसदलाई जीवित राखिराख्न र त्यहाँबाट राष्ट्र र जनताका पक्षमा काम गर्न मैले सबै तागत लगाउने छु।’
उनले यो कार्यमा आफू सफल हुने विश्वाससमेत व्यक्त गरे। उनले संसदीय दलमा आफूहरु सबैभन्दा ठूलो दल हुने समेत दावी गरे।
‘हिजोको झन्डै ७० प्रतिशत केन्द्रीय सदस्यसम्म आउँदा र संसदीय दलको बैठकसम्म आउँदा देशको सबैभन्दा ठूलो दल हामी छौं’, प्रचण्डले भने, ‘केही माननीय आउन बाँकी छ। ९३ जना प्रतिनिधिसभाका सदस्यले हस्ताक्षर गर्नुभएको छ र केहीले यहाँ आउने प्रतिबद्धता दिनुभको छ। हामी प्रतिनिधिसभामा ९५ भन्दा बढी हुन्छौं।’
उनले संघीय लोकतानित्रक गणतन्त्र मान्ने सबै राजनीतिक दलहरुलाई एकतावद्ध गर्न, सहकार्य गर्न र एकताको बलमा प्रतिनिधिसभालाई जीवित तुल्याउन र राष्ट्र र जनताको पक्षमा काम गर्नेगरी नयाँ सरकार गठनतर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताए।
‘संघीय लोकतान्त्रिक गणतन्त्र मान्ने राजनीतिक दलसँग एकता, सहकार्य गर्दै प्रतिनिधिसभालाई जीवित तुल्याउने र राष्ट्र र जनताको पक्षमा काम गर्नेगरी नयाँ सरकार गठनतर्फ मेरो ध्यान केन्द्रित हुनेछ’, उनले भने।
Shares

प्रतिक्रिया