राजनीति


ओली पक्षको भेलामा गृहमन्त्री थापा अनुपस्थित, मन्त्री निवासमा छुट्टै भेला

ओली पक्षको भेलामा गृहमन्त्री थापा अनुपस्थित, मन्त्री निवासमा छुट्टै भेला

नेपालखबर
पुस ६, २०७७ सोमबार ५:४३,

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता तथा सांसदहरूको बालुवाटारमा भइरहेको भेलामा नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा अनुपस्थित भएका छन्।

गृहमन्त्री थापा यही बेला आफ्नो निवासमा आफूनिकट स्थायी र केन्द्रीय समितिका नेताहरुसँग छलफल गरिरहेका छन्।

उक्त छलफलमा पम्फा भुसाल, देव गुरुङ, हितमान शाक्य, रामदीप आचार्य, अमृता थापामगर, लेखनाथ न्यौपाने, मनोज थापा, यशोदा सुवेदी, सूर्यप्रकास सुवेदी, मायाप्रसाद शर्मा, युवराज भराई, सुरेश आलेमगर, महेश्वर दाहाल लगायत रहेका छन्।

छलफलमा उपस्थित धरैजसो केन्द्रीय सदस्यहरुले गहृमन्त्री थापालाई प्रचण्डको साथ नछाड्न आग्रह गरेको एक नेताले जानकारी दिए।

संसद विघटनपछिको अवस्थाका कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न सोमबार बिहानैदेखि ओली पक्षका नेताहरू बालुवाटारमा भेला भएका छन्। भेलामा ओली पक्षका सांसदहरूलाई पनि बोलाइएको छ।

आइतबार संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गर्ने प्रधानमन्त्री ओलीको निर्णयको पक्षमा उभिएका गृहमन्त्री थापा आफ्नै समूहको घेराबन्दीमा परेपछि सोमबार बिहानको भेलामा भने अनुपस्थित भएका हुन्।

आफ्नो पूर्वसमूहका नेताहरूले छलफल हुनुपर्ने दबाब दिएपछि सोमबार बिहानैदेखि पुल्चोकस्थित मन्त्री निवासमा थापाले भेला गरेका हुन्। नेकपाको विवादमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षलाई छाडेर प्रधानमन्त्री ओलीको कित्तामा उभिएका थापाले पार्टी विभाजन हुँदा के गर्ने भन्ने विषयमा छलफल केन्द्रित गरेका छन्।

‘पुल्चोकमा अहिले गृहमन्त्री थापा समूहको भेला भइरहेको छ, जसमा देव गुरुङ, पम्फा भुसाल र केन्द्रीय सदस्यहरू लगायतका करिब दुई दर्जन नेता सहभागी छन्’, थापा निकट एक नेताले भने, ‘अब पार्टी विभाजन भएको अवस्थामा कुन पक्षमा लाग्ने भन्नेबारे छलफल भइरहेको छ।’

प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा कायम राख्ने र नयाँ गठन हुने एमालेमा आफुपछिको तहमा रहने गरी सहअध्यक्ष वा उपाध्यक्ष बनाउने आश्वासन दिएपछि थापा ओलीतिर नै रहने निष्कर्षमा पुगेका छन्।

आज भइरहेको भेलामा थापाले हिजो आफ्नो समूहमा रहेका नेताहरू गुरुङ, भुसाल र केन्द्रीय सदस्यहरूलाई पनि आफुलाई साथ दिएर ओली पक्षमा लाग्न आग्रह गर्ने ती नेताले बताए।

‘गुरुङ र भुसाल त थापासँगै ओलीतिर लाग्ने सम्भावना छैन, तर आफ्नो पक्षका सकेसम्म धेरै केन्द्रीय सदस्यहरू तान्ने प्रयास भइरहेको छ’, थापा निकट ती नेताले भने, ‘पार्टी विभाजन नै हुँदा चाहिँ समिकरण परिवर्तन गरी थापा आफैं पनि प्रचण्ड–नेपाल पक्षमा लाग्ने सम्भावना पनि समाप्त भैसकेको छैन।’

यो पनिः
गृहमन्त्री थापा ओलीतिरै, नयाँ एमालेको सहअध्यक्ष बन्दै

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad