राजनीति


काठमाडौंमा तीन दिनसम्म भेटघाटमा व्यस्त रहेका भाजपा नेताले किन भेटेनन् प्रचण्ड र नेपाललाई?

काठमाडौंमा तीन दिनसम्म भेटघाटमा व्यस्त रहेका भाजपा नेताले किन भेटेनन् प्रचण्ड र नेपाललाई?

मणि दाहाल
मंसिर २८, २०७७ आइतबार १७:१७,

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेको तीन दिने नेपाल भ्रमणले सत्तारुढ दल नेकपाभित्र अर्को एउटा नयाँ विवाद विवाद उब्जाएको छ।

महासचिव विष्णु पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका चौथाइवालेको भ्रमणका क्रममा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीको विदेश विभाग र यसका प्रमुखलाई बाइपास गरेको भन्दै असन्तुष्टी देखिएको हो।

नेपाल भ्रमणको क्रममा चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि यहाँस्थित बिभिन्न संस्थाका प्रतिनिधिलाई समेत भेटेका थिए।

तर पार्टीको बिदेश विभागलाई यस विषयमा कुनै जानकारी नै गराइएको थिएन भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेटघाटको व्यवस्था पनि गरिएको थिएन।

भ्रमण समाप्त गरेर चौथाइवाले स्वदेश फर्किएको एकदिनपछि आइतबार नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिई सरकारी व्यक्ति सरह आमन्त्रण गर्नु र वार्ता गर्नु कुटनीतिक मान्यताको उल्लंघन भएको बताएका छन्।

Chauthaiwale Deuba 1

‘आफ्नो पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिई भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले वालुवाटारमा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघनको अर्को परिघटना हो। देश,पार्टी र पदको गरिमाको रक्षा होस्,’ पूर्व गृह तथा रक्षामन्त्री समेत रहेका रावलले ट्विटमा भनेका छन्।

त्यसैगरी नेकपाको प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईले विदेश विभागलाई बाइपास गरिएको भन्दै आपत्ति जनाएका छन्। उनले नेकपाभित्र बिदेश विभागको औचित्य सकिएको हो भन्दै प्रश्न गरेका छन्।

‘भारतीय जनता पार्टीका बिदेश विभाग प्रमुख डा. बिजय चौथाइवाले तीन दिने नेपाल भ्रमण सकेर भारत फर्किए। नेकपा महासचिव बिष्णु पौडेलको निमन्त्रणामा नेपाल आएका उनले प्रधानमन्त्री केपी ओली, महासचिव पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङदेखि कांग्रेस सभापति देउवा हुँदै सजपा का नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो समेतलाई भेटे’ चौलागाईले लेखेका छन्, ‘नेकपाकाे विदेश विभाग यसबारे बेखबर देखियो। नेकपाले यस भ्रमणलाई कुनै राजनीतिक कार्यक्रम वा औपचारिक सम्बोधन मार्फत स्वामित्व लिएको देखिएन। प्रधानमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री लगायत मुख्य नेताहरु सँगका भेटहरुको संस्थागत अभिलेखबारे अवगत नभए पनि औपचारिक रुपले ती उच्चतहका भेटबारे परराष्ट्र बोलेको देखिएन, सुनिएन।’

दिल्लीबाट गोरखपुरसम्म बिमानबाट आएका चौथाइवाले भैरहवा हुँदै सडकमार्गबाट काठमाडौ आएका थिए।

भ्रमण सकेर शनिबार उनी काठमाडौ भद्रपुर हुँदै बागडोग्रा गएर दिल्ली पुगेका छन्।

BJP Chauthaiwale Gyawali

बिहीबार बिहानदेखि उनको भेटघाट सुरु भएको थियो। नेपालमा रहँदा भारतीय राजदूत विनयमोहन क्वात्रासँग पहिले भेटेका उनले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा भेट गरेका थिए।

दुवैबीच आधा घण्टा छलफल भएको थियो। भेटमा पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल पनि थिए।

पछि उनले विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै निवास बुढानीलकण्ठमा भेट गरे।

त्यसैगरी शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग परराष्ट्र मन्त्रालयमा भेट गरेका चौथाइवालले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पनि उनकै निवासमा भेट गरेका थिए।

नेम्वाङसँगको भेटमा भाजपा र नेकपाबीच भाइचारा सम्बन्ध स्थापित गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ।

सोल्टी होटलमा बसेका चौथाइवालेसँग डा शेखर कोइरालाले होटलमै गएर भेट गरेका थिए।

त्यसैगरी महन्थ ठाकुर र राजेन्द्र महतोले पनि होटलमै पुगेर चौथाइवालेसँग भेट गरेका थिए।

Chauthaiwale Nembang

ठाकुरलाई भेट्नुपूर्व उनले होटल सोल्टीमा नीति अनुसन्धान प्रतिष्ठानकी महासचिव नलिनी ज्ञवाली र प्रतिष्ठानका पूर्व अध्यक्ष दीपक अधिकारीसँग समेत भेटवार्ता गरेका थिए।

चौथाइवाले शनिबार बिहान बुद्ध एयरबाट भद्रपुर विमानस्थल हुँदै भारततर्फ लागेका थिए।

राजधानीमा यतिधेरै भेटघाटमा व्यस्त रहँदा चौथाइवालेले यहाँको सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सोहि पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भने भेट गरेनन्।

सत्तारुढ दल नेकपाका महासचिवको आमन्त्रणमा भारतको सत्तारुढ दलका नेता तीन दिनसम्म काठमाडौंमा रहँदा पूर्वप्रधानमन्त्रीहरु समेत रहेका आफ्नै दलका कार्यकारी अध्यक्ष र सोही पार्टीका विदेश विभाग प्रमुखसँग भेटको व्यवस्था किन गरिएन भनी अहिले नेकपाको नेतृत्व तहमा अड्कलबाजी भइरहेको छ।

‘सामान्यता भ्रमणमा आएको अतिथिले को कोसँग भेट्ने भन्ने विषयमा होस्ट (आयोजक)सँग परामर्श गर्ने गरेको हुन्छ, आयोजकले नै नचाहेको व्यक्तिलाई अतिथिले भेट गर्दैनन्,’ नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले भने।

Chauthaiwale Mahantha Mahato 1

नेपाल भ्रमणको क्रममा चौथाइवालेले के के विषयमा छलफल गरे भन्ने विषयमा खुल्न सकेको छैन।

भारतसँग सम्बन्ध सुधारका लागि प्रयास गरिरहेका प्रधानमन्त्री ओलीको अग्रसरतामा चौथाइवाले नेपाल भ्रमणमा आएको स्रोतहरुले जनाएको छ।

स्रोतहरुका अनुसार मंसिरको पहिलो साता चौथाइवालेको नेपाल भ्रमण गराउने प्रयास भएको थियो।

केहि साताका बीचमा नेपाल भ्रमण गर्ने चौथाइवाले दिल्लीका चौथो प्रतिनिधि हुन्।

यसअघि भारतको जासुसी निकाय ‘रअ’का प्रमुख सामन्त गोयल, भारतीय स्थल सेनाका प्रमुख मनोजमुकुन्द नरवणे र भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गलाले नेपाल भ्रमण गरेका थिए।

यो पनि:
भाजपा नेतासँग प्रधानमन्त्रीले गरेको भेटप्रति भीम रावलले जनाए आपत्ति

भारतीय जनता पार्टीका नेता चौथाइवाले नेपाल भ्रमणमा, प्रधानमन्त्री ओलीसँग भेट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .