राजनीति


प्रचण्डसँग पोखरेलले भेटे, नेम्वाङले पनि भेट्दै

प्रचण्डसँग पोखरेलले भेटे, नेम्वाङले पनि भेट्दै

नेपालखबर
मंसिर २७, २०७७ शनिबार १५:५७,

सत्तारुढ नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

स्थायी कमिटी बैठकको अघिल्लो दिन शनिबार पोखरेल प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सन्देशसहित प्रचण्डसँग भेट्न दिउँसो करिब साढे १२ बजे खुमलटार पुगेका हुन्।

अध्यक्ष प्रचण्ड निकट स्थायी कमिटीका एक जना सदस्यका अनुसार पोखरेल करिब ४० मिनेट भेटवार्ता गरी खुमलटारबाट बाहिरिएका थिए।

मंसिर २१ गते सुरु भएको स्थायी कमिटीको अर्को बैठक आइतबार १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ। तर २१ गतेको बैठकमा सहभागी नभएका प्रधानमन्त्री ओली भोलीको बैठकमा जाने नजाने अनिश्चित छ।

सहमतिको सूत्र खोज्न भन्दै एक साता बैठक स्थगित गरिए पनि सहमति जुट्ने कुनै सम्भावना देखिएको छैन। सहमतिको सूच खोज्न दुई पक्षबीच खुलस्त छलफल समेत हुन सकेको छैन।

बिहीबार अध्यक्षद्वय ओली र प्रचण्डबीच करिब डेढ घण्टा भेटवार्ता भएपनि त्यहाँ कुनै सहमति जुट्न सकेन।

स्थायी कमिटीका ती नेताले शनिबार पोखरेलले के प्रस्ताव ल्याए भन्ने खुलस्त नभएको बताए। उनले बरु आइतबार बिहान प्रचण्डसँग भेट्न नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ आउन लागेको जनाए। नेम्वाङ पनि ओली निकट नेता हुन्।

ओलीले प्रचण्डसँग १९ पृष्ठ लामो प्रस्ताव फिर्ता लिन आग्रह गर्दै आएका छन् भने प्रचण्ड–माधव नेपाल पक्षले दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा प्रस्तुत भैसकेकाले अब छलफल गरेर निर्णय गर्नु पर्ने बताउँदै आएका छन्।

प्रचण्ड–नेपाल पक्षले ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये कम्तिमा एक पद तत्कालै त्याग गर्नुपर्ने अडान राखेको छ, जसलाई ओलीले अस्वीकार गर्दै आएका छन्।

एक पद त्याग गर्न ओली तयार नभए स्थायी कमिटीमा बहुमत अल्पमतका आधारमा निर्णय हुने र त्यसो गर्दा उनले दुवै पद गुमाउन सक्ने चेतावनी अर्को पक्षले दिएको छ।

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .