त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापाको नियुक्तिप्रति असहमति जनाएको छ।
सेवा आयोग जस्तो विशुद्ध प्राज्ञिक पदमा दलीय आधारमा गैर-प्राज्ञिक व्यक्तिलाई नियुक्त गरिएको भन्दै प्रप्राध्यापक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘त्रिवि सेवा आयोगले प्राध्यापक जस्तो उच्च प्राज्ञिक पदको अन्तरवार्ता र कार्यक्षमता मूल्याङ्कन गर्नुपर्ने तथ्य जग जाहेर नै छ। प्राध्यापन पृष्ठभूमि (एकेडेमिया) भन्दा बाहिरका व्यक्तित्वबाट विश्वविद्यालयका उच्च शैक्षिक अनुसन्धानकर्ताहरुको अन्तरवार्ता र कार्यक्षमता मूल्याङ्कन गर्ने कुरा आफैँमा विरोधाभाष पूर्ण देखिन्छ’ संघका सभापति प्राडा वसन्त ढकालद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ।
साथै, विगतमा कुनै एउटा राजनीतिक दलको केन्द्रीय सदस्य रही चुनाव समेत लडेको व्यक्तिलाई नियुक्त गर्दा सरकारले दाबी गरे जस्तो राजनीति मुक्त उच्च शिक्षाको नारा झुटो सावित मात्र भएको छैन सरकारको नारा र काममा दोहोरो मापदण्ड स्पष्ट रुपमा देखा परेको प्राध्यापक संघको आरोप छ।
जसबाट विश्वविद्यालयको आन्तरिक स्वायत्तता, संस्थागत गरिमा, प्राज्ञिक स्वतन्त्रता र संवेदनशीलतामाथि खलल पुगेको ठहर संघले गरेको छ।
सरकारको यस कदम प्रति खेद प्रकट गर्दै त्रिवि प्राध्यापक संघले हाल हुन गैरहेका र भविष्यमा हुन सक्ने यस्ता गैर-प्राज्ञिक छनौट वा नियुक्ति प्रति सजग र संवेदनशील रहन नेपाल सरकार लगायत सम्पूर्ण सरोकारवाला निकायहरूसँग अपिल पनि गरेको छ।

Shares

प्रतिक्रिया