पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धको भद्दा नक्कल गर्न खोजेको आरोप लगाएका छन्।
डा. भट्टराईले विप्लव समूहले लिएको व्यक्ति हत्याको नीति गलत रहेको भन्दै त्यसले मुठभेडका नाममा मान्छे मार्ने सरकारलाई नै बल पुर्याइरहेको बताए।
डा. भट्टराईले मान्छेले दाह्री खौरेको देखेर नक्कल गर्न खोज्दा बाँदरले आफ्नै नाक काटेको नीति कथाको उदाहरण दिँदै गलत नक्कलले आफ्नै क्षति हुने सुझाब नेकपालाई दिएका छन्। उनले विप्लव समूहलाई गलत नीति त्याग्न सुझाब दिँदै र राज्यलाई सार्थक वार्ता गर्न समेत आग्रह गरेका छन्।
यही मंसिर २३ गते विप्लवका कार्यकर्ताले मोराङको मिक्लाजुङ गाउँपालिकाका–१ स्थित सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको थिए। सोही घटनातर्फ संकेत गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले विप्लव नेकपालाई यस्तो सुझाब दिएका हुन्।
‘चन्द समूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेर नीति कथाको बॉदरले मान्छेले दारी खौरेको नक्कल गर्न खोज्दा आफ्नै नाक काटेको सम्झना गराइरहेछ’, सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराइले लेखेका छन्, ‘व्यक्ति हत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्याइरहेछ। चन्द समूहले गलत नीति त्यागोस, राज्यले सार्थक वार्ता गरोस्!’
चन्दसमूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेर नीतिकथाको बाॅदरले मान्छेले दारी खौरेको नक्कल गर्नखोज्दा आफ्नै नाक काटेको सम्झना गराइरहेछ।व्यक्तिहत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्याइरहेछ।चन्दसमूहले गलत नीति त्यागोस; राज्यले सार्थक वार्ता गरोस्!
— Baburam Bhattarai (@brb1954) December 11, 2020

प्रतिक्रिया