खेल


नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

नेपालखबर
मंसिर २७, २०७७ शनिबार ५:१३,

नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ।

नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसित खेल्ने अखिल नेपाल फुटवल संंघ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए। एसियन छनोटअन्तर्गत नेपाल समूह ‘बी’मा रहेको छ।

एसियाली फुटबल महासंघ (एएफसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आगामी मार्च ३० मा अष्ट्रेलिया तथा जुन ७ मा जोर्डनसँग खेल्नेछ।

कोरोना भाइरसको संक्रमणका कारण सन् २०२० को मार्च र अप्रिलमा हुने एसियाली क्षेत्रको दोस्रो चरणको खेल स्थगित गरिएको थियो। कोरोना कहर नरोकिएपछि एएफसीले छनोट चरणका खेल सन् २०२१ मा गर्ने निर्णय गरेको हो।

समूह बीमा नेपालसहित अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेई रहेका छन्। अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ। समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंकसहित चौथो स्थानमा छ। नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा नेपाल पराजित भएको थियो। नेपालले कुवेतसँत दुई खेल तथा जोर्डन र अष्ट्रेलियासित एक एक खेल हारेको थियो। चाइनिज ताइपेई अंकविहीन अवस्थामा रहँदै समूह ‘बी’ को पाँचौँ स्थानमा छ।

विश्वकप छनोटको खेलका लागि तयारी गर्न एन्फाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सञ्चालन गर्दैछ। बन्द प्रशिक्षणका लागि एन्फाले ५८ खेलाडीलाई बोलाएको छ। मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा दिएपछि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको एन्फा प्रवक्ता राईले जानकारी दिए।

कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किएका थिए। त्यसपछि उनी नेपाल नफर्की स्वीडेनबाटै राजीनामा दिएका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad