राजनीति


‘चीनको घाँटी अँठ्याउन’ इन्डो-प्यासिफिक क्षेत्रमा नौसैनिक जहाज तैनाथ गर्ने अमेरिकी योजना

‘चीनको घाँटी अँठ्याउन’ इन्डो-प्यासिफिक क्षेत्रमा नौसैनिक जहाज तैनाथ गर्ने अमेरिकी योजना

नेपालखबर
मंसिर ६, २०७७ शनिबार १४:११,

शक्ति राष्ट्रहरूको एउटा मुख्य व्यापारिक जलमार्ग रहेको इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी नौसेनाको जहाजहरु तैनाथ भए चीनलाई ठूलो धक्का लाग्ने सैन्य विश्लेषकहरुले बताएका छन्।

उनीहरुका अनुसार यस कार्यले चीनको यस क्षेत्रमा बढ्दो चासोमाथि चुनौती थपिने छ।

यसैहप्ताको मंगलबार मात्र अमेरिकी नौसेनाका सचिव केननेथ ब्रेथवेटले अमेरिकाले हिन्द महासागर र प्रशान्त महासागरको बिचमा नयाँ ‘यूएस नेभी फ्लिट’ स्थापना गरेर अमेरिकी नौसेनाको जहाजहरु तैनाथ गर्ने योजना बनाएको बताएका थिए।

अमेरिका, भारत, अस्ट्रेलिया र जापानले संयुक्त रुपमा उत्तरी अरेबियन सागरमा संयुक्त सैन्य अभ्यास गरे पश्चात नै ब्रेथवेटले इन्डो–प्यासिफिक क्षेत्रमा यूएस नेभी फ्लिट स्थापना गर्ने बताएका थिए।

इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो आक्रमकतालाई मध्यनजर गर्दै क्वाड समूहले उक्त सैन्य अभ्यास गरेको थियो।

‘हामी जापानमा रहेको सेभेन्थ फ्लिटमा मात्र भरपर्न सक्दैनौं। हामीले हाम्रा सहयोगी राष्ट्रहरु सिंगापुर, भारत लगायतको पनि ध्यान दिनुपर्छ। ती क्षेत्रमा पनि हाम्रा नौसेनाका जहाजहरु तैनाथ हुनु अर्थपूर्ण हुनेछ,’ ब्रेथवेटको भनाई उदृत गर्दै सैन्य वेबसाइट यूएसएनआईले लेखेको छ।

इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी नौसेनाको जहाजहरु तैनाथ गर्ने विषयमा आफूले पूर्व रक्षामन्त्री मार्क एस्परसँग छलफल गरेको उनको भनाई छ। ट्रम्पले गतहप्ता मात्र एस्परलाई पदबाट हटाएका थिए।

हालका कार्यकारी रक्षामन्त्री क्रिस्टोफर मिलरसँग भने यस विषयमा छलफल नभएको ब्रथवेटले बताएका छन्।

विश्वव्यापी व्यापार मार्गहरूमा हिन्द महासागर महत्वपूर्ण कडी हो। यहाँबाट ८० प्रतिशत समुद्री कारोबार हुने गर्दछ।

चीनको ८० प्रतिशत तेल मलाक्का स्ट्रेट हुँदै जान्छ, मर्केटर इन्स्टिच्युट अफ चाइना स्टडिजका अनुसार मलाक्का स्ट्रेट हिन्द महासागरको सबैभन्दा व्यस्त स्थान हो।

चिनियाँ जनमुक्ति सेनाका सेकेन्ड आर्टिलरी कोर्प्सका पूर्व प्रशिक्षक सङ जोङपिङका अनुसार हिन्द महासागरमा अमेरिकाले नौसेनाको जहाजहरु तैनाथ गरे चीनको यस क्षेत्रको महत्वकांक्षी योजनामा ठूलो बाधा पुग्नेछ।

‘चीन पश्चिमी प्रशान्त महासागरमा भन्दा हिन्द महासागरमा बढी भर परेको छ,’ सङ भन्छन्, ‘नयाँ यूएस नेभी फ्लिट स्थापना गरिनु चीनको घाँटी अँठ्याउनुजस्तै हो। यसले चीनको उर्जा आपूर्ति ऋंखला र बेल्ड एन्ड रोड परियोजनाजस्ता विकासका उद्देश्यलाई ठेस पुर्याउनेछ।’

बेइजिङको बीआरआई एक विशाल पूर्वाधार लगानी योजना हो जसले चीनलाई एसिया, अफ्रिका, युरोप लगायत सबैलाई एकसाथ जोड्ने लक्ष्य राखेको छ।

बीआरआई परियोजनाअनुसार चीनले हिन्द महासागरको राष्ट्र पाकिस्तानसँग सम्बन्ध गाँसिसकेको छ। चीनल त्यहाँ राजमार्ग र बन्दरगाहहरु बनाउनेछ। युरोप र अफ्रिकासँग चाँडै सम्पर्कमा आउन चीनले यस्तो गरेको हो।

उदाहरणका लागि पाकिस्तानको ग्वादर समुद्री बन्दरगाह चीनले बनाइदिएको हो। यो बन्दरगाह चीनकै कम्पनीले व्यवस्थापन गर्छ। यो बन्दरगाह रणनीतिक हिसाबले नै स्ट्रेट अफ होर्मुज नजिकै बनाइएको हो। स्ट्रेट अफ होर्मुज तेलको लागि विश्वको सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्ग हो।

अमेरिकी थिंक ट्यांक र्‍यान्डका एक वरिष्ठ अन्तर्राष्ट्रिय रक्षा अनुसन्धान विश्लेषक तिमोथी हिथका अनुसार अमेरिकाले यो क्षेत्रमा सजिलै नयाँ फ्लिट स्थापना गर्नसक्छ तर केही चुनौतीको सामना भने गर्नुपर्ने हुनसक्छ।

अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटका रक्षा तथा रणनीतिक कार्यक्रमका अनुसन्धानकर्ता चार्ली लियोन्स जोन्सका अनुसार अमेरिका समर्थक देशहरु जस्तै अस्ट्रेलियाले अमेरिकी कार्यको स्वागत गर्नेछ र अमेरिकी नौसेनाको सुविधाका लागि सहयोग पुर्याउनेछ।

‘तर मित्र राष्ट्रहरुसँगको परामर्श बिनै हिन्द महासागरमा पहिलो फ्लिट स्थापना गर्न लागिएकाले वैधानिक चिन्ता भने खडा हुनेछ’, लियोन्स जोन्स भन्छन्, ‘यसबाहेक, अमेरिकी नौसेनाले बढी समुद्री जहाजहरू किन्नु र हिन्द महासागरमा समर्पित फ्लिट स्थपना गर्नु सुखद कुरा हो।’

अमेरिकी नौसेनाको सेभेन्थ फ्लिट जापानको योकोसुकामा छ। यसले ४८ मिलियन वर्ग माइलको हेरचाह गर्दछ। यो मध्य प्रशान्तदेखि हिन्द महासागरको भारत पाकिस्तानको सीमासम्म फैलिएको छ।

यस्तै अमेरिकी नौसेनाको पाँचौं फ्लिट बहराइनमा छ, जसले मध्यपूर्वी र पश्चिमी हिन्द महासागरको निगरानी राख्दछ।

सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्डो–प्यासिफिक रणनीति ल्याएसँगै हिन्द महासागरमा अमेरिकाले पाइला चालेको छ। ट्रम्पले सोही वर्ष क्वाड समूहलाई ब्युँताए। उनले जापान, अस्ट्रेलिया, भारत र अमरिकाबीच सैन्य अभ्यासमार्फत सम्बन्ध बढाएका छन्।

चीनले क्वाड समूहलाई आफूविरुद्धको मोर्चा भन्दै आएको छ। तर विश्लेषक लियोन्स जोन्सका अनुसार क्वाड समूह रक्षा सहयोगका बारेमा छ।

‘यसले केबल इन्डो–प्यासिफिक सुरक्षित गर्न खोजेका छ जुन अधिनायकवादबाट मुक्त छ र अन्तर्राष्ट्रिय व्यापारको लागि खुला छ’, उनले भने, ‘त्यसैले यसले यदि चीन र संयुक्त राज्य अमेरिका बीचमा सैन्य द्वन्द्व देखा पर्‍यो भने चीनमाथि आक्रमण गर्ने नेतृत्व लिने प्रयास गर्दैन।’

‘बरु यसले त्यस्तो द्वन्द्व हुनबाट रोक्न खोज्छ’, उनी भन्छन्।

(एसीसएमपी र एजेन्सीहरूको सहयोगमा)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad