सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा अभद्र व्यवहार गर्नेलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले उक्त कार्य गर्ने र गराउने जो सुकै भएपनि छानविन गरी कडाभन्दा कडा कार्बाही गर्न माग गरेका हुन्।
नेता पाण्डे सोमबार चितवनको राप्ती नगरपालिकाको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री ओली समर्थक कार्यकर्ताले उनीमाथि दुर्व्यवार गर्नुका साथै नाराबाजी र होहल्ला गरेका थिए।
प्रधानमन्त्री निकट युवा तथा विद्यार्थीका नेताहरुले कार्यक्रमा नेता पाण्डे बोलिरहेका बेला नाराबाजी र होहल्ला गरेपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो।
याे पनि : चितवनमा प्रधानमन्त्री ओली समर्थक कार्यकर्ताद्वारा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार (भिडियाे)
वरिष्ठ नेता नेपालले उक्त कार्य सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने भएको भन्दै स्थानीय पार्टी एवं सम्बन्धित निकायलाई कारबाहीका लागि माग गरेका हुन्।
‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु’, नेता नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउॅछु।’
नेकपामा देखिएको विवाद उत्कर्षमा पुगिरहेका बेला त्यसको प्रभाव जिल्लामा पनि परेको हो।
Shares

प्रतिक्रिया