सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक्लै बालुवाटारमा नभेट्ने सन्देश पठाएको खुलासा भएको छ।
कार्यकारी अध्यक्ष प्रचण्डले एक्लै नभेट्ने सन्देश पठाएपछि शुक्रबार ओलीनिकट नेताहरुले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रचण्डसँग छलफल गरेको स्रोतले जनाएको छ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावप्रति असन्तुष्ट रहेका प्रधानमन्त्री ओलीले प्रचण्डलाई छलफल गर्न विभिन्न च्यानलमार्फत बोलाएका थिए।
तर, प्रचण्डले एक्लै बालुवाटारमा छलफल नगर्ने अडान लिएपछि महासचिव बिष्णु पौडेलले छलफलका लागि वातावरण बनाउन प्रयास गर्दै आएका थिए।
शुक्रबार मध्यान्ह १२ः१५ देखि अध्यक्ष प्रचण्डसँग ओलीनिकट सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल छलफलमा जुटेका थिए। तीन नेताहरुबीच छलफल सुरु भएको ४५ मिनेटपछि स्थायी समिति सदस्य तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि उक्त छलफलमा पुगेका थिए।
यो पनि : महासचिव पौडेल र उपप्रधानमन्त्री पोखरेलसँग धुम्बाराहीमा छलफल गर्दै प्रचण्ड
पार्टी कार्यालयमा रहेको प्रचण्डको कार्यकक्षमा चार नेताहरुबीच छलफल भएकाे हाे।
‘कार्यकारी अध्यक्ष प्रचण्डले एक्लै बालुवाटारमा कुनै कुरा नगर्ने र छलफल नै गर्ने भए पार्टी कार्यालयमै गराैँ भनेपछि महासचिवले प्रधानमन्त्रीलाई त्यही सन्देश पठाउनु भएको थियो, प्रधानमन्त्रीका तर्फबाट पहिलो चरणमा उपप्रधानमन्त्री पोखरेल र अन्य नेताहरुले छलफल गर्नुभएको हो’, स्रोतले नेपालखबरसँग भन्यो, ‘उहाँहरुबीच (दुबै अध्यक्ष) संवादहीनताको अवस्था नरहोस् र सहमति नै गरेर बैठकमा बस्ने उपाय खोज्न पहल हाेस् भनेर आजकाे छलफल भएको हो।’
मंसिर ३ गते बसेको बैठकमा आफ्नाे धारणा राखेका प्रधानमन्त्री ओलीले प्रचण्डले ल्याएको राजनीतिक प्रतिवेदन नभएर आरोप पत्र भएको र त्यसलाई अस्वीकार गर्दै खारेज गरेको बताएका थिए।
उनले सो प्रस्तावमा लगाइएको आरोप पुष्टि नभए प्रचण्डले अध्यक्ष पद छाड्नुपर्ने र आरोप पुष्टि भए आफूले पद छाड्नुपर्ने अवस्था आएको भन्दै त्यसलाई आफूले गम्भीर रुपमा लिएको र पार्टी एकता नै भंग हुनसक्ने अवस्थामा पुगेको संकेत गरेका थिए।
अध्यक्ष ओलीले प्रचण्डको प्रस्ताव राम्ररी अध्ययन गरी अर्को प्रतिवेदन लेख्नका लागि १० दिनको समय माग गरेपछि मंसिर १३ गते बस्नेगरी बैठक स्थगित भएको थियो। त्यसलगत्तै ओलीनिकट नेताहरूले छुट्टै प्रतिवेदन ल्याउँदा पार्टी फुटको दिशातिर जाने भएकोले एउटै प्रतिवेदन बनाउनु पर्ने बताएका थिए।
त्यसपछि प्रचण्ड र ओलीलाई मिलाउन र सहमति कायम गराउन नेताहरू दौडधुपमा छन्।
प्रचण्डले ल्याएको राजनीतिक प्रस्ताव वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको सामुहिक प्रस्ताव रहेको उनीहरुले प्रष्ट्याएका छन्।
सो प्रस्तावले नेकपा फुटको डिलमा पुगेको निष्कर्ष निकालेको भन्दै प्रधानमन्त्री ओलीले सबै प्रश्नको जवाफ दिने बताएका थिए।
सम्बन्धित समाचारहरु:
- बैठकमा नेकपा महासचिवको प्रस्ताव : हामी सचिवालय सदस्य असक्षम भयौँ, सबैले सामुहिक राजीनामा दिउँ
- प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन पेस गर्ने
- सचिवालय बैठक रोक्ने र गरिछाड्ने जोडमा नेकपाका दुई पक्ष, यस्ता छन् दुवैतर्फका रणनीति
- प्रस्ताव फिर्ता लिन महासचिव पौडेलको आग्रहपछि प्रचण्डले भने सबै कुराको छलफल बैठकमै गरौं
- प्रचण्डले बैठक नरोक्ने अडान लिएपछि पोखरेल र पौडेलसँग छलफलमा जुटे ओली
- बिहान वामदेव गौतमसँग भेटेका प्रधानमन्त्री ओलीको दिउँसो माधव नेपालसँग छलफल
- आफूलाई सहयोग गर्न ओलीले गरेको आग्रह वामदेवद्वारा अस्वीकार
- प्रचण्डको प्रस्ताव फिर्ता नगरी नेकपाको कुनै बैठक हुँदैनः सल्लाहकार थापा

प्रतिक्रिया