राजनीति


सचिवालय बैठक रोक्ने र गरिछाड्ने जोडमा नेकपाका दुई पक्ष, यस्ता छन् दुवैतर्फका रणनीति

सचिवालय बैठक रोक्ने र गरिछाड्ने जोडमा नेकपाका दुई पक्ष, यस्ता छन् दुवैतर्फका रणनीति

सागर न्यौपाने
मंसिर २, २०७७ मंगलबार १७:९,

मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले छलफलका लागि बोलाएपछि सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगे।

भेटमा राष्ट्रपति भण्डारीले जटिल मोडमा पुगेको पार्टी विवाद सुल्झाएर अघि बढ्न प्रचण्डलाई सुझाव दिइन्।

‘यस्तो बेलामा पार्टीभित्रको विवाद चर्काउनु राम्रो होइन, पार्टीलाई एकताबद्ध राख्न तपाईंले मिलाउनुपर्‍यो,’ भण्डारीले प्रचण्डसँग गरेको आग्रहबारे स्रोतले भन्यो। जवाफमा प्रचण्डले आफूले मिलाउन धेरै प्रयास गरेको तर असफल भएको बताए।

‘मसँग के छ र? सबै शक्ति केपी ओलीजी कै हातमा छ, उहाँलाई नै भन्नुहोस् न, यो सबै समस्या उहाँले नै उत्पन्न गर्नुभएको हो,’ राष्ट्रपति भण्डारीलाई प्रचण्डले भने, ‘मैले त मिलाउन धेरै खोजेँ तर सकिन।’

प्रचण्डलाई राष्ट्रपति भण्डारीले यस्तो अवस्थामा शितल निवास बोलाएकी थिइन, जुनबेला नेकपा फुटको संघारमा पुगेको अनुमान गरिएको छ।

यदि कार्यकारी अध्यक्ष प्रचण्ड र अध्यक्ष तथा प्रधानमन्त्री ओलीमध्ये कुनै एक पक्ष पछि नहटेमा नेकपा विभाजनको दिशामा अघि बढ्न सक्ने नेताहरु बताउँछन्।

मंगलबार राति अबेरसम्म पनि दुबै पक्ष आआफ्ना रणनीतिका साथ अघि बढेको देखिन्छ।

नेकपाको बुधबार सचिवालय बैठक बस्दैछ।

सो बैठकमा शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको १९ पृष्ठको राजनीतिक प्रस्तावमाथि छलफल गर्ने तयारी छ।

सो बैठक नराख्नका लागि प्रधानमन्त्री ओलीसहित उनीनिकट नेताहरु अन्तिम जोडबल गरिरहेका छन् भने प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पछि नहट्ने पक्षमा रहेका सो समुहका नेताहरु बताउँछन्।

मंगलबार दिउँसो ओलीले सचिवालय सदस्य ईश्वर पोखरेल र महसचिव विष्णु पौडेलसहित स्थायी समिति सदस्यहरु विष्णु रिमाल, सुवास नेम्वाङ, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत नेतासँग बालुवाटारमा लामै छलफल गरे।

छलफलमा भदौ २६ को स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयन नगरेर समस्या आएको र अब त्यसलाई कार्यान्वयन गरेर जाने प्रतिबद्धता जनाउँदै दुई अध्यक्षबीच फेरि संवाद गर्न सुझाव दिएको नेम्वाङले जानकारी दिए।

‘भोलिको बैठक बस्नुअघि दुई अध्यक्षबीच सहमति गराउन म र महासचिव लागि परेका छौं, मैले साथीहरुमार्फत् खुमलटार अध्यक्षलाई मिलेर जान आग्रह गरेको छु,’ नेम्वाङले भने, ‘महासचिवले विहान भेटेरै पनि भोलिको बैठक स्थगित गर्न आग्रह गर्नुभयो, हामीले स्थायी समितिको पछिल्लो निर्णय कार्यान्वयन गरेर जान सुझाव दिएका छौं।’

यो पनि : राष्ट्रपति भण्डारीले बोलाएपछि प्रचण्ड शितल निवासमा

उनले विवाद चर्केका बेला बुधबार सचिवालय बैठक राखिएको तर त्यसलाई टुङ्गोमा पुर्‍याउनेबारे अहिलेसम्म कुनै गृहकार्य नगरेको हुँदा त्यसले सकारात्मक परिणाम नल्याउने बताए।

‘तयारीबेगर सचिवालय बैठक बस्यो भने फेरि विवाद चर्किएला त्यसकारण यस्तो बेला केही समय लिएर दुई अध्यक्षबीच सहमतिको आधार तय गर्नु बुद्धिमानी हुन्छ भनेर दुबै अध्यक्षलाई सुझाव दिएको छु,’ नेम्वाङले थपे।

वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ भने कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिइरहेका छन्।

नौ सदस्यीय सचिवालयमा बहुमत नेताहरु प्रचण्ड–नेपाल समूहमा रहेका कारण अध्यक्ष ओली दबाबमा परेका हुन्। स्थायी तथा केन्द्रीय कमिटीमा पनि उनी अल्पमतमा छन्।

ओली, प्रचण्ड र नेपालले नेतृत्व गरेको तीन गुट हावी रहेको नेकपामा तीनमध्ये दुई नेता एकातर्फ हुँदा कुनै पनि नेताले पार्टीमा एक्लै बहुमत प्राप्त गर्ने अवस्था छैन।

पार्टीका विवादलाई विधि, पद्धतिअनुसार समाधान गर्नुपर्ने भनाइ प्रचण्ड–नेपाल पक्षको छ।

अध्यक्ष ओली स्वयंले नै भदौ २६ को निर्णय कार्यावयन नगरेका कारण पार्टी विभाजनउन्मुख भएको सो पक्षको भनाइ छ।

भोलिका लागि तय गरिएको बैठक अघि बढाए त्यसले विभाजनको रेखा कोर्ने ओलीपक्षीय नेताहरुले चेतावनी दिएका छन्।

शनिबार, आइतबार, सोमबार र मंगलबार ओली निकटका नेताहरुले सचिवालयको बैठक रोक्नको लागि धेरै प्रयास गरे पनि सफल भएका छैनन्।

‘पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन्छु, म यसमा यताउता हुन दिन्न, तपाईंहरु पनि आफ्नो ढंगले लाग्नुस्,’ प्रधानमन्त्री ओलीले बालुवाटारमा आफूनिकट नेताहरुसँग भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

त्यसपछि बालुवाटारका नेताहरुले दौडधुप तीव्र बनाएका छन्। तर, बेलुका अबेरसम्म पनि बैठक रोक्नेबारेमा कुनै जानकारी नआएको र बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘अहिलेसम्म कुनै निर्णय नभएकोले भोलिको लागि तय भएको बैठक बस्छ,’ श्रेष्ठले नेपालखबरसँग भने।

यो पनि: प्रस्ताव फिर्ता लिन महासचिव पौडेलको आग्रहपछि प्रचण्डले भने सबै कुराको छलफल बैठकमै गरौं

बालुवाटारबाट महासचिवको फोन प्रचण्डलाई
प्रधानमन्त्री ओलीसँगको छलफलपछि सचिवालय बैठक जसरी पनि स्थगित गर्नुपर्ने निष्कर्षसहित महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष प्रचण्डलाई फोन गरेर बैठक सार्न र राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए।

जवाफमा प्रचण्डले बैठक सार्ने र प्रस्ताव फिर्ता लिने कुरा संभव नभएको बताए।

‘बैठक सार्ने कुरा संभव छैन, यो व्यक्तिले बोलाएको बैठक होइन, नेकपाको सबैभन्दा माथिल्लो निकायले बोलाएको हो, सार्न मिल्दैन,’ प्रचण्डले दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो।

तर, नेम्वाङका अनुसार प्रचण्डले साथीहरुसँग सल्लाह गर्छु भन्ने जवाफ दिएका थिए।

‘बालुवाटारमा छलफलपछि महासचिवले खुमलटार अध्यक्षलाई फोन गरेर बैठक सार्ने विषयमा जिज्ञासा राख्नुभएको थियो, उहाँले म सल्लाह गर्छु भन्नुभएको हो,’ नेम्वाङले भने।

महासचिव पौडेल भने नेताहरुलाई सहमतिको प्रयास गराउन दौडधुपमा छन्।

यो पनिः प्रचण्डले बैठक नरोक्ने अडान लिएपछि पोखरेल र पौडेलसँग छलफलमा जुटे ओली

बैठकले स्थायी समिति बैठक बोलाउने
ओली अनुपस्थित भएपनि कार्यकारी अध्यक्ष प्रचण्डसहितको बैठक बस्ने र त्यसले स्थायी समितिको बैठक बोलाउने निर्णय गर्ने प्रचण्ड–नेपालनिकट एक नेताले भने।

‘भोलिको बैठकले स्थायी समितिको बैठकको मिति तोक्नेछ,’ उनले भने, ‘यदि अध्यक्ष ओली उपस्थित हुनुभएन भने बहुमतले त्यसबारे निर्णय गर्छ।’

ओलीनिकट नेताहरु भने भोलिको बैठकमा उपस्थित नहुने योजनामा छन्।

बैठक स्थगितको सूचना प्रकाशित गर्ने संभावना
ओलीनिकट स्रोतका अनुसार महासचिव पौडेलले भोलि विहान बैठक स्थगित भएको सूचना प्रकाशित गर्ने संभावना पनि छ।

‘आज राती अबेरसम्म पनि बैठक रोक्न गरिएको प्रयास सफल नभएमा भोलि बिहान एक सूचना प्रकाशित गरेर बैठक एकतर्फी रुपमा स्थगित गराउने तयारी छ,’ स्रोतले भन्यो।

एकतर्फी रुपमा बैठक स्थगित गरिएपनि कार्यकारी अध्यक्ष प्रचण्डले सो बैठक राख्ने योजनामै छन्। सचिवालय बैठकको निर्णय भएकोले एकतर्फी रुपमा स्थगित गर्दैमा बैठक रोकिदैन, बस्छ,’ प्रचण्ड–नेपाल निकट स्रोतले भन्यो।

प्रचण्ड–नेपाल पक्षले अहिलेको वातावरणमा कुनै पनि सम्झौता नगरी अघि बढ्ने रणनीति लिएका छन्।

ओलीले पार्टीभित्र एकलौटी गरेको, पार्टी निर्णय कार्यान्वयन नगरेको भन्दै सचिवालयका पाँच जना एकातर्फ उभिएपछि अहिलेसम्म ओली नेकपाको सबै कमिटीमा अल्पमतमा रहेका छन्।

त्यसैले, पार्टी कमिटीहरुका बैठक राख्दा त्यहाँ बहुमतबाट आफ्नो चाहनाविपरितका निर्णय हुँदैजाने र आफू अप्ठ्यारोमा पर्ने आशंकाका कारण ओलीले बैठक गर्न नचाहेका हुन्।

बैठकका विषयबस्तुबारे दुई अध्यक्षबीच समझदारी कायम गरेर मात्र बैठक गर्नुपर्ने ओलीको जोड छ।

याे पनि: 
- बिहान वामदेव गौतमसँग भेटेका प्रधानमन्त्री ओलीको दिउँसो माधव नेपालसँग छलफल

आफूलाई सहयोग गर्न ओलीले गरेको आग्रह वामदेवद्वारा अस्वीकार

प्रचण्डको प्रस्ताव फिर्ता नगरी नेकपाको कुनै बैठक हुँदैनः सल्लाहकार थापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .